महोत्तरी, १६ बैशाख । विद्यार्थी भर्ना अभियान २०७६ अन्तर्गत सोमबार महोत्तरी जिल्लाको श्री राम मा.वि मटिहानीले एक रैलीको आयोजना गरेको थियो ।
राम मा.वि. परिसरबाट वाजागाजाका साथ भर्ना अभियान सम्बन्धी जनचेतनामूलक प्लेकार्ड सहित निस्केको सो रैलीले मटिहानीको विभिन्न भागको परिक्रमा गरेको थियो ।
रैलीमा मटिहानी नगरपालिका प्रमुख एवं विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि प्रसाद मण्डल, मटिहानी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष गणेश प्रसाद, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू वैधनाथ मण्डल, अरूण नाहर, निर्मला देवी, महोत्तरी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन प्रसाद गुप्ता, पूर्व अध्यक्ष विजय साहसहित राजनीतिक दलका नेताहरूको सहभागिता रहेको थियो ।
वि.स. २००९ सालमा स्थापना भएका सो विद्यालयमा हाल १६०० विद्यार्थी रहेका छन् । विद्यालयमा इ–लाइब्रेरी, कम्प्यूटर ल्याब, स्मार्ट कक्षा लगायतका सुविधाहरू रहेका छन् । विद्यालय महोत्तरीकै नमुना विद्यालय रहेको छ ।
तपाईको प्रतिक्रिया