वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा हटाइयो

समाचार

5/24/2019

कपिलवस्तु, १० जेठ । बुद्धभूमि नगरपालिका वडा नं २ गोरुसिंगे बजार क्षेत्रमा २० वर्षदेखि बसोवास गर्दै आएका र होटल संचालन गरेका १४ घर र १५ भन्दा बढी टहराहरुलाई हटाइएको छ ।

त्रिशक्ति सामुदायिक वन क्षेत्रभित्र रहेको अतिक्रमण गरी निर्माण गरिएका घरटहरालाई प्रहरी परिचालन गरी जिल्ला वन कार्यालयको समन्वयमा डोजर चलाएर नै पूर्णरुपमा भत्काइएको छ । घरटहरा हटाउन अवरोध सिर्जना गर्ने २ जना स्थानीय महिलालाई प्रहरी नियन्त्रणमा लिइएको छ ।

वनद्वारा पटक पटक जग्गा खाली गर्नका लागि सूचना टाँस गरेपनि स्थानीयले नमानेपछि बाध्य भएर भत्काउन परेको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख इश्वरी प्रसाद पौडेलले बताए ।

अन्य क्षेत्रमा पनि क्रमैसँग कानुनअनुसार वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरु हटाउँदै जाने समेत पौडेलले बताए । सामुदायिक वन क्षेत्रमा अटेर गरी बनाएका घर हटाइ वन संरक्षणमा जोड दिइएको त्रिशक्ति सामुदायिक वन उपभोत्ता समूहका अध्यक्ष निल कुमार श्रेष्ठले बताए ।

करिब १ बिघा क्षेत्रफलमा रहेका घरटहरा हटाउन सफल भएको उनले बताए । घरटहरा हटाएपछि वि. सं. २०५३ सालदेखि सोही ठाउँमा व्यवसाय गरी बसेकी स्थानीय रिना वलीले आफूहरु विस्थापित भएको बताइन् ।

रोजगारको रुपमा होटल संचालन गर्दे आएकोमा वनले हटाएपछि आफूहरुको रोजीरोटी नै खोसिएको बताइन् । सरकारले समानताको आधारमा काम गरेमा जिल्लाका हजारौं संख्यामा वन क्षेत्रमा रहेको घर हटाउनु पर्ने उनले बताइन् ।

कपिलवस्तुका १ हजार बढी पक्की तथा कच्ची घर निर्माण गरी लामो समयसम्म वन क्षेत्र ओगटेर बसेपनि राजनीतिक आरक्षणको आधारमा बसोवास गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ