कपिलवस्तु, १३ जेठ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ ।
नेकपाका महासचिव विप्लवको गृहजिल्ला कपिलवस्तुमा पनि विहानैदेखि बन्दको उच्च प्रभाव देखिएको छ । जिल्लाका चन्द्रौटा, जितपुर, गोरुसिंगे, तौलिहवा लगायतका स्थानहरुमा बन्दको प्रभाव परेको छ ।
विप्लवको गृह गाउँ शिवगढीमा आवतजावत गर्ने नागरिकहरुलाई प्रहरीले विशेष निगरानीमा राखेको छ । बन्दको पूर्वसन्ध्यामा जिल्लाका विभिन्न स्थानमा बम पड्किएका आवाज सुनिएपछि जिल्लावासीहरुमा त्रास बढेको छ ।
त्यस्तै जिल्लाको दक्षिणी भेग कृष्णनगर, बहादुरगञ्ज, महाराजगञ्जमा भने बन्दको आंशिक प्रभाव परेको छ । सदरमुकाम तौलिहवा र मुख्य व्यापारिक केन्द्र चन्द्रौटामा बन्दको प्रभाव उच्च देखिएको छ ।
पसल, व्यवसायहरु ठप्प छन् । लामो तथा छोटो दूरीका यात्रुवाहक सवारी साधन चलेका छैनन् । शैक्षिक संघ संस्थामा पनि बन्द छन् । जिल्लामा हालसम्म अप्रिय घटना नघटेपनि आईतबार साँझ सामुदायिक अस्पताल र वाणगंगा पुल नजिकै विष्फोट भएपछि सुरक्षा व्यवस्थालाई प्रहरीले कडा बनाएको छ ।
त्यस्तै, सोमबार विहान शिवराज नगरपालिका ५ वालापुर मोड नजिकै शक्तिशाली आवाजका साथ विस्फोट भएको तर कुनै भौतिक तथा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया