काठमाडौं, ६ फागुन । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ । चार वर्षअघि भारतले नाकाबन्दी लगाएपछि बढेको चीनतर्फको व्यापारमा पछिल्लो महिना ह्रास आएको सम्बद्ध व्यवसायीहरुले बताएका छन् ।
नेपालले चीन जाने आफ्ना सबै नाका बन्द गरेको छ भने गएको जनवरी दोस्रो सातादेखि चीन आवतजावतमा समेत रोक लगाइएको छ । नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष कमलेश अग्रवाल व्यापारीहरुले चीनको विकल्प खोज्न थालेको बताउँछन् ।
चीनबाट नेपालमा आल्मुनियम, ब्याग, क्यामरा, केमिकल, केमिकल फर्टिलाइजर, कस्मेटिक सामग्री, ब्याट्री, बिजुलीका सामग्रीहरु, मेडिकल इक्विपमेन्ट, पाइप तथा पाइप फिटिङका सामान आयात हुने गरेको छ ।
नेपालबाट चीनतर्फ भने अगरबत्ती, एलुमिनम, कपर, हस्तकलाका सामग्री, चाउचाउ, पश्मिना, रेडिमेट गार्मेन्ट, छालाका सामग्री, चिया, तरकारी, गहुँलगायत सामग्रीको निर्यात हुने गरेको छ । चीनसँगको आयात–निर्यात लामै समय ठप्प भए नेपालको आर्थिक वृद्धिमा नै धक्का पुग्ने जानकारहरु बताउँछन् ।
कोरोनाका कारण चीनको आर्थिक वृद्धि २ प्रतिशतमात्र हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । त्यसको असर नेपालमा पनि केही हदसम्म पर्ने जानकारहरु बताउँछन् । कोरोनाको प्रभाव नेपालको अर्थतन्त्रमा एकदेखि दुई प्रतिशतको हाराहारीमा पर्नसक्ने विज्ञहरुको अनुमान छ ।
कोेरोना प्रभावकै कारण चिनियाँ पर्यटकको आगमन ठप्प भएपछि नेपाल भ्रमण वर्ष– २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा धक्का पुग्ने निश्चित जस्तै छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट चीनतर्फ एक अर्ब १ करोड ६० लाख रुपैयाँको सामान निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.५ प्रतिशत कम हो । त्यस्तै नेपालमा चीनबाट हुने आयात १२.१ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ ।
तपाईको प्रतिक्रिया