जनकपुरधाम, २० माघ । जनकपुरधामका स्थानीय व्यापारी धर्मे साहको पक्राउ विरुद्ध मेयरसहित प्रदेशसभा सदस्यहरु समेतले विरोध प्रदर्शन गरेका छन् ।
केही दिन पहिला जनकपुर उपमहानगरपालिकाका मेयरको कार्यकक्षमा पत्रकारलाई कुटपिट गरेको आरोप लगाउँदै स्थानीय व्यापारी साहलगायत चार जना विरुद्ध किटानी जाहेरी परेको थियो ।
सोही क्रममा व्यापारी साहलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । कान्तिपुर टेलिभिजनका जनकपुर संवाददाता अनिल मिश्र नेतृत्वको टोलीले चार जनाविरुद्ध किटानी जाहेरी दिएपछि साहलाई प्रहरीले पक्राउ गरेको हो ।
व्यापारी साहको पक्राउको विरोधमा सोमबार ११ बजेदेखि जनकपुरको मुख्य सडक अवरुद्ध गरिएको छ । स्थानीय व्यापारी तथा राष्ट्रिय जनता पार्टी (राजपा)का कार्यकर्ताहरुले साहको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहित प्रदेश २ का सांसदहरु पनि सहभागी छन् ।
तपाईको प्रतिक्रिया