काठमाडौं, १० पुस । भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्नो प्रदेश र नेपालबीचका सीमा नाकामा उठ्ने गरेका व्यापार समस्या सहजीकरण गर्न आफैले नेतृत्व लिने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको १९ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डलसँगको छलफलका क्रममा उनले यस्तो आश्वासन दिएका हुन् ।
नेपाल र उत्तरप्रदेशबीच आर्थिक, व्यापारिक सम्बन्ध विस्तार, लगानी आकर्षण, पर्यटन प्रवद्र्धनमा सहकार्यका क्षेत्रहरूका सम्भाव्यता पहिल्याउन एफएनसीसीआई प्रतिनिधिमण्डल यतिखेर उत्तर प्रदेशको भ्रमणमा छ ।
महासंघसँगको भेटवार्तामा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालको सीमा जोड्ने रणनीतिक सडकको स्तरोन्नती र भन्सार नाकामा भइरहेको ढिलाई कम गर्न आफ्नो सरकारले काम थालेको बताए ।
मुख्यमन्त्रीको कार्यालय लखनउमा भएको भेटमा उनले भैरहवा, नेपालगञ्जदेखि पश्चिम गौरीफन्टासम्म आफै पुगेर त्यहाँ भइरहेको विकास तथा व्यापार सहजीकरणको काम अनुगमन गरेको पनि बताए ।
नेपाल भारत बीच हालसम्मको सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई अब व्यापारिक सम्बन्धमा विकास तथा विस्तार गर्नु आवश्यक रहेको मुख्यमन्त्री आदित्यनाथको भनाइ छ ।
भेटका क्रममा महासंघ अध्यक्ष राणाले दुई मुुलुकबीच भन्सार तथा सडकको विकासमा उत्तर प्रदेश सरकारले दिएको प्राथमिकताको स्वागत गर्दै नेपालको धार्मिक पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा उत्तर प्रदेशको सहयोग महत्वपूर्ण रहने बताएकी थिइन् ।
तपाईको प्रतिक्रिया