काठमाडौं, १ चैत । नेपाल पिछडावर्ग (ओबीसी) महासंघले चार्टर एकाउन्टेन्ट श्यामकुमार महतोको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । श्रद्धाञ्जलीसभामा सहभागीहरुले उनको योगदानका बारे चर्चा गरेका थिए ।
महासंघले शनिबार मधेश मिडिया हाउसमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको कार्यक्रममा स्व.महतोको निधनले पिछडावर्गले मात्र नभई समग्र राष्ट्रले नै एउटा होनहार र दूरदर्शी व्यक्तित्व गुमाएको वक्ताहरुले बताएका छन् ।
स्व.महतो महासंघका पूर्वका.वा. अध्यक्ष एवं केन्द्रीय सल्लाहकार तथा जनकपुर चुरोट कारखानाका पूर्व महाप्रबन्धकको रुपमा समेत काम गरिसकेका छन् । उनको निधन गत माघ २२ गते ५९ वर्षको अल्पायुमै निधन भएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका नेता सीताराम मेहताले महतोको निधनबाट समाज र राष्ट्रका निम्ति ठूलो क्षति भएको बताए ।
यसैगरी, महासंघका अध्यक्ष कौशल कुमार सिंहले महतोको निधनबाट खासगरी पिछडावर्गलाई अपूरणीय क्षति भएको बताएका छन् । उनले स्व.महतोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनप्रति सम्वेदना प्रकट गरेका छन् ।
श्रद्धाञ्जली सभा कार्यक्रममा महासंघका पदाधिकारीहरुले स्व.महतोप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाज र राष्ट्रका लागि दिएको योगदान सदैव स्मरणीय रहने बताएका छन् । कार्यक्रम सञ्चालन सिएन खड्गले गरेका थिए ।
तपाईको प्रतिक्रिया