शैक्षिक संरचनाको भूकम्प पछिको पुनर्निर्माणका लागि सम्झौता

समाचार

3/6/2019

काठमाडौं, २२ फागुन । भारतीय राजदूतावास, काठमाडौं र द सेन्ट्रल बिल्डिङ्ग रिसर्च इन्स्टिच्युट (सीबीआरआई), रुर्की, भारतबीच नेपालका ७२ वटा शिक्षा संरचनामा भूकम्प पछिको पुनर्निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा सीबीआरआई तर्फबाट प्लानिङ्ग एण्ड बिजनेस डिभ्लोपमेन्ट ग्रुप, सीबीआरआईका समूह अगुवा डा. पुर्णिमा परिदाले हस्ताक्षर गरेका छन् ।

सो हस्ताक्षर समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी सहभागी थिए ।

सीबीआरआईले गोर्खा, नुवाकोट, धादिङ, दोलखा, काभे्रपलाञ्चोक, रामेछाप तथा सिन्धुपाल्चोक गरी ७ जिल्लाका ७० वटा उच्च माध्यमिक विद्यालयका साथै त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय तथा पाटन स्थित राष्ट्रिय पुस्तकालयको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यस्वस्थापन परामर्श सेवा प्रदान गर्नेछ ।

सीबीआरआईले नेपाल सरकारको विपद् उत्थानशील पुनर्निर्माण निर्देशिका अनुरुप शैक्षिक संरचनाको पुनर्निर्माण÷रेट्रोफिट गर्न शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईसँग काम गर्नेछ ।

यस भारतीय राजदूतावास, काठमाडौं पुनर्निर्माण प्रभागका प्रमुख सुचिता किशोर तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका परियोजना निर्देशक इमा नारायण श्रेष्ठले गोर्खा तथा नुवाकोटका आठ विद्यालयलको परियोजना–विशिष्ट सम्झौता पत्रमा हस्ताक्षर गरे ।

काउन्सिल अफ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्चअन्तर्गत रहेको सीबीआरआई आश्रय योजना, निर्माण सामग्री, संरचना तथा प्रकोप न्यूनीकरण जस्ता क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने भारतको एक प्रमुख राष्ट्रिय प्रयोगशालाको रुपमा परिचित छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ