सुक्खा बन्दरगाह सञ्चालन गर्न भारतीय कम्पनी इच्छुक

समाचार

2/5/2020

काठमाडौं, २२ माघ । पर्साको सिर्सिया सुक्खा बन्दरगाह सञ्चालनका लागि ५ कम्पनीको टेन्डर परेको छ । कन्टेनर कर्पोरेसन अफ इन्डिया, इन्टरनेसनल कार्गो टर्मिनल एन्ड इन्फ्रास्टक्चर प्रालि, प्रिस्टिन मेगा लजिस्टिक पार्क प्रालि, अदानी लजिस्टिक प्रालि र अपना र जगदम्बा ज्वाइन्ट भेन्चर कम्पनीले टेन्डर हालेको इन्टरमोडल यातायात विकास समिति वीरगन्जका प्रमुख हेमेन्द्र मोहन शाहीले जनाए ।

टेन्डर हाल्नेमध्ये जगदम्बा मात्र नेपाली कम्पनी हो । अन्य सबै भारतीय कम्पनी हुन् ।

समितिले ५ वर्षको ठेक्काको न्यूनतम पट्टा बहाल २ अर्ब ४० लाख रुपैयाँ निर्धारण गरेको छ । हाल सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको कम्पनी हिमालयन टर्मिनल्सको पाँचवर्षे ठेक्का अवधि यसै वर्षको जनवरी ६ मा सकिएपछि नयाँ कम्पनी छनोट नहुँदासम्म उसैलाई जनवरी ७ देखि ६ महिना अवधि थप गरिएको छ । यो बन्दरगाह सञ्चालनको १० वर्षको पहिलो ठेक्का हिमालयन टर्मिनल्सले पाएको थियो ।

भारतको रेल सेवासँग जोडिएको मुलुकको यो एक मात्र सुक्खा बन्दरगाह हो । यसमा भारतको कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाह हुँदै तेस्रो मुलुकबाट कन्टेनर तथा बल्क कार्गो वस्तु आउने गरेका छन् । नेपालबाट तेस्रो मुलुक मालवस्तु निकासीका लागि यो बन्दरगाह उपयोगी मानिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ