सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारले अध्ययन समिति गठन गर्ने

समाचार

11/26/2018

जनकपुरधाम, १० मंसिर । प्रदेश २ सरकारले सडक दुर्घटना न्यूनीकरणका लागि प्रदेश सुरक्षा सल्लाहकार विजयलाल कायस्थको अध्यक्षतामा अध्ययन तथा सुझाव समिति गठन गर्ने भएको छ ।

सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारसँग शनिबार भेटघाट गरेपछि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले समिति गठनबारे जानकारी दिएका हुन् ।

समितिमा यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी, सडक डिभिजन र यान्त्रिक कार्यालयका प्रतिनिधि सदस्य रहनेछन् ।

समितिलाई सडक दुर्घटनाका कारणबारे विस्तृत अध्ययन गरी निश्चित समयभित्र प्रतिवेदन दिने कार्यादेश दिने मन्त्री यादवका प्रमुख स्वकीय सचिव महेश राय यादवले बताए ।

उनले भने, ‘सडकको दुरवस्था, सार्वजनिक यातायातका साधनको जीर्ण अवस्था, सवारीसाधनको तीव्र गति, सवारीसाधन गुडाउँदा एकअर्कालाई उछिन्ने प्रवृत्ति तथा ट्राफिक नियम उल्लंघन, चालकको लापरबाहीलगायत विषयमा समितिले अध्धयन गर्नेछ ।’

समितिले सडक अनुशासनलगायत ट्राफिक व्यवस्थापन, सार्वजनिक सवारीसाधनको सेवा सुधार आदिका विषयमा अध्ययन गर्ने जानकारीसमेत उनले दिए । प्रदेश २ मा सवारीसाधनको बढ्दो संख्यासँगै ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति पनि बढेको छ । सवारीसाधनभित्र क्षमताभन्दा बढी यात्रु कोच्ने, तीव्र गतिमा गुडाउने र साधनको यान्त्रिक अवस्था सुधार नगर्दा दुर्घटना बढेका छन् ।

मन्त्री यादवले शनिबारै सप्तरी बस दुर्घटनामा मृत्यु भएका परिवारलाई राहतस्वरुप प्रदेश सरकारले एक–एक लाख रुपैयाँ दिने घोषणा गरे । प्रदेश सरकारले दुर्घटनामा घाइते भएकाको निःशुल्क उपचार व्यवस्था गर्ने जानकारी पनि उनले दिए ।

सुनसरीको वराह क्षेत्र र चतराधाम दर्शन गरेर फर्केका यात्रु बोकेको को१ख २७९९ नम्बरको बस शनिबार भारदह–राजविराज सडकखण्डअन्तर्गत इनरुवानजिकको पोखरीमा शनिबार खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा डाक्नेश्वरी नगरपालिका वडा नं. ५ की ७० वर्षीया बेचनीदेवी यादव, २ की ६० वर्षीया सिकिलादेवी साह, ४ का ५५ वर्षीय दिनेश रजक र ५० वर्षीया बौकीदेवी रजकका साथै वडा नंं. ५ की ६० वर्षीया भुखनीदेवी यादवको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही नगरपालिकाका ४८ जना यात्रु घाइते भएका छन् ।

मन्त्री यादवसहितको टोलीले दुर्घटनास्थलको स्थलगत अवलोकनसमेत गरेको छ । टोलीमा मन्त्री यादवका साथै प्रदेश सांसद अभिषेक यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य अशोककुमार यादव, सप्तरी इन्चार्ज सत्यनारायण यादव, संघीय प्रेस फोरम प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादवलगायत सहभागी थिए ।

महेश राय यादवबाट साभार

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ