काठमाडौं, २ जेठ । संसदको विकास समितिले काठमाडौंको तीनकुने र टेकु पुलको स्थलगत निरीक्षण गरेको छ । पुल निर्माणको भइरहेको ढिलाई र गुणस्तरका बारेमा गुनासो आएपछि समितिले निरीक्षण गरी सडक विभाग र निर्माण व्यवसायीबाट जाकारी लिएको हो ।
समितिकी अध्यक्ष कल्याणी खड्काको नेतृत्वमा आएको समिति सदस्यहरुले दुवै पुलको निरीक्षणका क्रममा उठेका विवादका बारेमा जानकारी माग गरेका थिए ।
बागमतिमा निर्माण भइरहेको तिनकुने पुलको डिजाइन समयमा उपलब्ध नगराएको र त्यसको पुनरावलोकनमा लागि भइरहेको ढिलाईले काम समयमा नसकिएको भन्दै समिति अध्यक्ष खड्काले सडक विभागप्रति आक्रोश पोखेकी थिइन् ।
उनले समयमा नक्सा किन उपलब्ध नगराएको भन्दै सडकका प्रोजेक्ट मेनेजर अर्जुन अर्याललाई सडक विभागका कारण पुल निर्माण ढिलाई भएको बताएकी थिइन ।
निर्माण व्यवसायीले तीनकुने पुलको निर्माण सम्झौता भइसकेपछि पनि नक्सा पास हुन १९ महीना लागेको, निर्माण स्थलमा पोलहरु नहटाइएको र डिजाइन रिभ्युका लागि दिएको २० महीना बितिसक्दा पनि अहिलेसम्म नक्सा नपाएको भन्दै सडकले आवश्यक वातावरण बनाइदिएमा थपिएको म्याद २०७७ असारभित्रमा काम सक्ने प्रतिबद्धता गरेको थियो ।
सडक विभागअन्तर्गत काठमाण्डौ उपत्यका सडक विस्तार आयोजना र पप्पु कन्स्ट्रक्सनबीच यो पुल निर्माणका लागि २०७१ सालमा सम्झौता भएको थियो ।
विष्णुमतिको टेकु–डल्लु पुलमा गुणस्तरको विवादमा पनि समितिले चासो राखेको छ । दिगो शहरि यातायात योजना जेड.आई.सि.–पप्पुबीच जुन २०१४ मा यो पुल निर्माणको सम्झौता भएको थियो ।
कन्सल्टेण्टको रोहबरमा नेपाल गुणस्तर तथा नाप तौलबाट गुणस्तरको प्रतिवेदनसमेत प्राप्त भएको निर्माण कम्पनीले बताएको छ । यो विवाद अहिले मध्यस्थकर्तामा पुगेको छ ।
सरोकारका निकायलाई समस्याको समाधानका लागि पटकपकट आग्रह गर्दा पनि समाधान नदिएकाले कम्पनीको प्रतिष्ठामा आँच आउने काम भएको निर्माण कम्पनीले बतायो ।
पुल निर्माणको भुक्तानीसमेत अहिलेसम्म नपाएको भन्दै उसले समितिको ध्यानाकर्षण गराएको छ । निरीक्षणमा सहभागी नेता टोपबहादुर रायमाझीले काम गर्ने साइट र नक्सा नै उपलब्ध नगराई ठेक्का लगाउने परिपाटीले बजेट खर्च हुन नसकेको र निर्माण व्यवसायीसमेत बद्नाम भइरहेको भन्दै कर्मचारीप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
तपाईको प्रतिक्रिया