सिरहाका दुई स्थानीय तहको अनुदान रोक्का

समाचार

2/13/2020

सिरहा, १ फागुन । गत आर्थिक वर्षको खर्च विवरण नदिएका कारण सिरहाका दुई स्थानीय तहको चालु आर्थिक वर्षको अनुदान बजेट निकासा रोक्का भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सिरहाका अनुसार चालु आर्थिक वर्षको अनुदान बजेट निकासा रोक्का हुनेमा कर्जन्हा नगरपालिका र अर्नमा गाउँपालिका रहेका छन् । ती दुई स्थानीय तहले गत असारमा भएको नगरसभा तथा गाउँसभाको स्वीकृत बजेट कार्यालयमा नबुझाएकोले उनीहरुले चालु आर्थिक वर्षको अनुदान बजेट अहिलेसम्म लग्न पाएका छैनन् ।

नगरसभा र गाउँसभाबाट स्वीकृत बजेट पेस गरेपछि कार्यालयले स्थानीय तहलाई प्रथम किस्तावापतको अनुदान बजेट रकम साउनको पहिलो हप्तामै निकासा गर्ने गरेको छ । निकासा गरिएको रकमको खर्चको विवरण पेस गरेका स्थानीय तहहरुले मंसिरको पहिलो हप्ता र चैतको पहिलो हप्तामा क्रमशः दोश्रो किस्ता र तेश्रो किस्तावापतको अनुदान रकम पाउनेछन् ।

चालु आर्थिक वर्षका लागि कर्जन्हा नगरपालिकाका लागि सामानीकरण अनुदान र सशर्त अनुदान गरी २३ करोड ३४ लाख ४७ हजार तथा अर्नमा गाउँपालिकाका लागि समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी २१ करोड सात लाख १५ हजारको बजेट केन्द्रबाट वित्तीय हस्तान्तरण भई उक्त कार्यालयमा अड्किएको छ ।

सिरहाका १५ स्थानीय तहले अहिलेसम्म पहिलो किस्तावापतको अनुदान पाइसकेका छन् भने चार स्थानीय तहले दोश्रो किस्तावापतको अनुदान रकम पाएका छन् ।

दोश्रो किस्तावापतको अनुदान रकम मंसिरको पहिलो सातामा लगिसक्नुपर्नेमा लहान नगरपालिका, धनगढीमाई नगरपालिका, सखुवान नकारकट्टी गाउँपालिका र विष्णुपुर गाउँपालिकाबाहेक प्रथम किस्ता अनुदान रकम पाउने अन्य स्थानीय तहहरुले खर्चको विवरण पठाउनै सकेका छैनन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ