कैलाली, २० जेठ । सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम ल्याएको छ ।
प्रदेश प्रमुख मोहनराज मल्लले आइतबार प्रदेशसभामा पेश गरेको अगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममा चालु खर्च घटाउदै पुँजीगत खर्च बृद्धि गरी समाज उन्मुख अर्थतन्त्रको नीति अवलम्वन गर्ने नीति सुदूरपश्चिम प्रदेशले लिएको छ ।
अधिकांश पुरानै कार्यक्रमलाई निरन्न्तरता दिएर ल्याईएको कार्यक्रममा युवा स्वरोजगार र प्रदेशको आर्थिक स्तर वृद्धि गर्ने खालका कार्यक्रम समावेश गरिएको छ। प्रदेश सरकारले सामाजिक असमानता हटाउन विभिन्न किसिमका कार्यक्रम अघि सारेको छ ।
प्रदेशलाई आउँदो तीन वर्षमा पूर्ण साक्षर घोषणा गर्नेदेखि प्रदेशका नौ वटै जिल्लामा मुख्यमन्त्री एकीकृत वस्ती विकास कार्यक्रम सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
एक व्यक्ति एक खाता, मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रम अन्तर्गत नमूना कृषि गाउँ आफै बनाउ, एक घर एक तालिम प्राप्त व्यक्ति, एक स्थानीय तह एक औद्योगिक उत्पादन, एक जिल्ला एक नमुना शहर, एक निर्वाचन क्षेत्र एक खेल मैदानलगायतका महत्वकांक्षी कार्यक्रम समेत ल्याएको छ ।
महाकाली अञ्चल र सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरिने जनाएको छ भने फाप्लामा बहुउपयोगी अन्तर्रा्ष्ट्रिय खेल मैदान निर्माण गरिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया