जनकपुरधाम, २ माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले एशियाली विकास बैंकलाई सुनकोशी कमला डाइभर्सनमा लगानी गर्न आग्रह गरेका छन् ।
एशियाली विकास बैंकले बुधबार जनकपुरमा आयोजना गरेको एशियाली विकास बैंकको नेपालका लागि प्रस्तावित राष्ट्रिय साझेदारी रणनीति २०२०–२०२४ सम्बन्धि सरोकारबलासँगको छलफल तथा परामर्श कार्यक्रममा मुख्यमन्त्री राउतले सो आह्वान गरेका हुन् ।
मुख्यमन्त्री राउतले मुलुककै खाद्यान्न भण्डारको रुपमा परिचित प्रदेश नं.२ सिंचाइको अभावमा मरुभूमि हुने खतरा बढ्दै गएकोले त्यसबाट निकास पाउनसमेत सुनकोशी कमला डाइभर्सन आवश्यक रहेको उल्लेख गरे ।
मुख्यमन्त्री राउतले सुनकोशी कमला डाइभर्सनले प्रदेशको सिंचाइको समस्या समाधान हुनुका साथै विद्युत उत्पादन र पर्यटन क्षेत्रमा समेत फाइदा हुने उल्लेख गरे ।
उनले प्रदेशको खेतीयोग्य जग्गालाई जोगाउन सुनकोशी कमला डाइभर्सनको साथै चुरे संरक्षण पनि उतिकै महत्पवूर्ण रहेको उल्लेख गरे ।
चुरे संरक्षण विना प्रदेशको विकास सम्भव नरहेको उल्लेख गर्दै उनले एशियाली बैंकलाई यी दुबै योजनालाई प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रदेशसभा सदस्य सत्रुधन महतो, रामचन्द्र मण्डल, राम सरोज यादव, शैलेन्द्र यादव, परमेश्वर साह, रानी शर्मा तिवारी, चमेली देवी दाससहित स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया