सेनाले बनायो दलित बस्तीमा शौचालय

समाचार

12/28/2018

जनकपुरधाम, १३ पुस । नेपाली सेनाले जनकपुरधाम उपमहानगरपालिका–७ मा रहेको दलित बस्तीमा शौचालय बनाइ दिएको छ ।

त्यहाँ बस्दै आएका करिब ५ सय दलित परिवारका लागि नेपाली सेनाले पहिलो चरणमा तीनवटा शौचालय र खानेपानीका लागि एउटा चापाकलको व्यवस्था गरिदिएको छ ।

नेपाली सेनाले आफ्नै श्रम र पैसा खर्च गरेर गुठी संस्थानले उपलब्ध गराएको जग्गामा उनीहरुका लागि शौचालय निर्माण गरेको हो ।

२ लाख ३० हजारको लागतमा निर्माण गरिएको शौचालय नेपाली सेनाले वडा अध्यक्ष जानकी रमण साहलाई हस्तान्तरण गरेको छ ।

नेपाली सेनाको महेन्द्रनगरस्थित गोरखनाथ गणका गणपति भोला पाण्डेले वडा अध्यक्षलाई शौचालय हस्तान्तरण गरेका हुन् ।

पहिलो चरणमा तीनवटा शौचालय निर्माण गरिएको र निकट भविष्यमै दलित वस्तीका लागि थप शौचालय निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष साहले बताए । यसका साथै दलित वस्तीका लागि एक धर्मशालाको समेत निर्माण गर्न लागिएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ