सेना र नागरिकबीचको सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त

समाचार

12/22/2019

जनकपुरधाम, ६ पुस । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गा.पा. ३ खखनामा आयोजित १० दिवसीय वृहत्त स्वास्थ्य शिविरको समापन गरेका छन् ।

उक्त अवसरमा मुख्यमन्त्री राउतले नेपाली सेनाले विपदका साथै स्वास्थ्य जाँचमा समेत तदारुकता देखाई यस प्रदेशका आम जनतालाई सेवा प्रदान गरेकामा नेपाली सेनाको टोलीलाई धन्यवाद दिँदै यसले सेना र नागरिक विचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

विगतमा बारा पर्सामा आएको टोर्नाडोका पीडित परिवारको लागि घर निर्माणमा खेलेको भूमिका अविस्मरणीय रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अगामी दिनमा समेत प्रदेश २ को सरकार यस्तै सहयोग र सहकार्यको अपेक्षा राखेको बताए ।

महोत्तरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवको अध्यक्षतामा भएको उक्त समापन समारोहमा मुख्यमन्त्री राउतले शिविरमा खटिएका सेनाका डाक्टर सहितको टोली तथा स्थानीय सहयोगीहरुलाई गमछा ओढाई सम्मान समेत गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्य कौशल कुमार यादव, सेनाका सहायक रथी एवं स्वास्थ्य शिविर टोलीका कमाण्डर डा. देवेन्द्र खत्री, सोनमा गापा अध्यक्ष राज कुमार यादव, समाजवादी पार्टी जिल्ला अध्यक्ष नागेन्द्र यादव सहितका व्यक्तिहरुले सम्बोधन गरेका थिए ।

मंसिर २७ गते देखी पुष ६ गतेसम्म चलेको उक्त शिवरिमा ३४ हजार १७२ जनाले निशुल्क स्वास्थ्य उपचार पाएका छन् । जसमध्ये ३ सय २९ जनाको शल्यक्रिया समेत गरिएको छ । स्वास्थ्य शिविरमा ६० लाख बराबरको औषधी निशुल्क वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ