राजविराज, ३२ जेठ । लोकसेवा आयोग विज्ञापनप्रति आपति जनाउँदै लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको राजविराजमा पुत्ला दहन गरिएको छ ।
शनिबार सप्तरीका विभिन्न विद्यार्थी सँघसंगठनहरूले राजविराजको गजेन्द्र चौकमा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना सम्बन्धमा सार्वजनिक गरेको विज्ञापनप्रति आपति जनाउँदै अध्यक्ष मैनालीको विरोध गर्दै पुत्ला दहन गरेका छन् ।
पुत्ला दहन पश्चातको कोण सभामा बोल्दै राष्ट्रिय विद्यार्थी संघका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले लोक सेवा आयोगले संघीयता र समावेशितालाई समाप्त पार्ने काम अध्यक्ष मैनाली गरेको भन्दै समावेशितालाई बेवास्ता गर्दै विज्ञापन प्रकाशित गरेकोले उनको पु्तला दहन गरेको बताए ।
समानुपातिक समावेशिताको आधारमा निजामति सेवामा आरक्षणको व्यवस्थामार्फत प्रवेश पाउने अधिकारलाई समेत आयोगले कुण्ठित पारेको अध्यक्ष यादवले आरोप लगाए ।
सो अवसरमा नेवि सँघका जिल्ला अध्यक्ष घनानन्द यादवले संविधानमा ग्यारेन्टी गरी निजामति ऐन मार्फत विगत केही वर्षदेखि लागू हुँदै आएकोमा संघीयता र समावेशितालाई समाप्त पार्ने षड्यन्त्रस्वरुप लोकसेवा आयोगद्वारा गरिएको नयाँ मापदण्ड अनुसारको नयाँ विज्ञापन र विज्ञापनको पद्धतिले मुलुकलाई पश्चगमनतिर धकेल्न खोजेको आरोप लगाए ।
राष्ट्रिय विद्यार्थी सँघका जिल्ला अध्यक्ष शम्भु यादवले राज्यको हरेक निकायमा सरकारी सेवामा प्रवेश गर्ने मौलिक हकमा कुठाराघात भएको भन्दै लोक सेवालाई व्यवस्थामार्फत प्रदेश सरकारको अधिकारलाई समेत कुण्ठित र हनन् गरेको आरोप लगाए ।
यसैगरी नेकपा युवा नेता विनोद यादवले आरक्षण सम्बन्धि प्रतिशत निर्धारण नयाँ संघीय निजामति ऐन नआए सम्मको लागि ४५% लाई शतप्रतिशत मानी ३३.% महिला, २८% आदिवासी जनजाती, २२% मधेशी, ९% दलित हुने व्यवस्था रहेको तर कर्मचारी समायोजन ऐनअनुसार प्रत्येक स्थानीय तहको छुटाछुटै रुपमा हिसाब गरी निकालिएको विज्ञापनबाट समावेशी कर्मचारी भर्ना प्रकृयालाई तहसनहस गरेको भन्दै सो विज्ञापन फिर्ता लिन माग गरेको छ ।
सो कोण सभामा पूर्वस्ववियु सभापति रामचन्द्र यादव, संघीय विद्यार्थी फोरमका जिल्ला अध्यक्ष तारकेश्वर यादव, राजपा युवा नेता रामकुमार यादव, लगायतले लोकसेवा आयोगले गरेको विज्ञापन तरून्त सच्याएर पुनः प्रकाशित नगरेमा कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया