सप्तरी, १४ माघ । प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत सप्तरी जिल्लामा हालसम्म १ हजारभन्दा बढी छोरी बीमित भएका छन् ।
१५ माघ २०७५ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरी दिने घोषणा गरको थियो ।
सोहीअनुरुप मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि प्रभावकारी हुन नसकेपछि विगत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत हालसम्म एक हजार १२ छोरीले बीमा गराएका हुन् ।
यो संख्या प्रदेशका ८ वटै जिल्लामध्ये सबैभन्दा बढी रहेको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका संयोजक प्रियंका यादवले जानकारी दिइन् ।
संयोजक यादवका अनुसार बीमा गराएकी बालिकाले २० वर्षपछि एकमुष्ट १ लाख २५ हजार पाउने छन् ।
बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकजनाको नागरिकता र बच्चा तथा अभिभावकको ६र६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक व्यवस्था मिलाएको संयोजक यादवको भनाइ छ ।
माघ २ गते मुख्यमन्त्री लालबाबु राउतले पर्साको वीरगञ्जका साथै ८ वटै जिल्लामा एकसाथ शुरु गरिएको शिविर फागुन पहिलो सातासम्म प्रत्येक स्थानीय तहमा सञ्चालित रहनेछ ।
शिविरमा बीमा गराउने बालिकाको परिवारले ३ महिनाका लागि सुविसुको फ्री इन्टरनेट सेवासमेत पाइरहेका संयोजक यादवले बताइन् ।
तपाईको प्रतिक्रिया