जनकपुरधाम, २९ पुस । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताएका छन् ।
नीति अनुसन्धान प्रतिष्ठान , परराष्ट्र मन्त्रालय , परराष्ट्र मामिला अध्यन प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित जलवायु परिवर्तन , पर्वतीय वातावरण र मानव जातिको भविष्य विषयक सगरमाथा सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दैै राउतले सो कुरा बताएका हुन् ।
जलवायु परिवर्तनलाई रोक्न फिल्डमै काम गर्नुपर्ने बताउदैं मुख्यमन्त्री राउतले आफ्नो समस्या पहिल्याउनुको साटो विदेशीको समस्यालाई सभा गोष्ठीमा केलाउने प्रवृति अन्त गर्नुपर्ने बताए । चुरेको दोहन र वन विनासले नेपालमा प्राकृतिक विपद् निम्त्याएको उल्लेख गर्दै उनले चुरे दोहन र वन विनास रोक्नुको साटो जलवायु परिवर्तन रोक्न सभा सम्मेलनमा समय खर्चिनु दुभाग्यपूर्ण रहेको उल्लेख गरे ।
उनले भने,‘ दिन दहाडै बालुवा क्रसर उद्योगले चुरे दोहन गर्दैछन्, दिनहुँ वन विनास हुँदैछ , रोक्ने प्रयास गर्नेहरुको दिन दहाडै हत्या हुँदैछ हामी मुकदर्शक भएका छौ । प्रहरी हाम्रो मातहतमा छैनन् , संघीय सरकार मातहतको प्रहरी प्रशासनले रोक्न सकेको छैन यो भन्दा ठुलो दुर्भाग्यको कुरा अरु के होला ।’
तल देखी माथिसम्मको सेटिङ्गमा जलवायु परिवर्तनको दुष्प्रभाव निम्त्याउने खेल भईरहेको आरोप समेत उनले लगाए । विकासको नाममा चुरे र वनजंगल विनास गर्ने काम भइरहेको तर्फ सचेत गराउँदै मुख्यमन्त्री राउतले भने ‘ अहिले विभिन्न नेताहरुको चुरे विनास गरेर धमाधम सडकहरु निर्माण हुँदै छन् ।
त्यसको दुष्प्रभाव तराई मधेशमाथि पर्ने निश्चित छ । यसलाई रोक्न पर्यावरणविद्हरुले कलम चलाई दिनुपर्दछ । तीनै तहका सरकारको आँखा खोलि दिने काम गर्नुपर्दछ । प्रकृतिमाथि भई रहेको अतिक्रमणकै कारण प्रकृतिले मानव जातिलाई दण्डित गरि रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रकृतिमाथिको अतिक्रमण अविलम्ब नरोकिए ठुलो समस्या निम्तिने चेतावनी समेत दिए ।
नीति अनुसन्धान प्रतिष्ठान सदस्य डा. सुरेन्द्र लाभको अध्यक्षतामा सम्पन्न उद्घााटन सत्रमा प्रदेश निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, राष्ट्रिय योजना आयोगका सदस्य उषा झा, प्रदेश सभाका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु, उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रतिनिधिहरु सहितको उपस्थिति रहेको थियोे ।
तपाईको प्रतिक्रिया