जनकपुरधाम, २९ माघ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले समाजमा व्याप्त कुरितिहरुको न्युनिकरणमा सामुदायिक रेडियोहरुले खेल्दै आएको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
सामुदायिक रेडियो प्रशारक संघले ९ औ विश्व रेडियो दिवसको अवसर पारेर मंगलबार महोत्तरीको बर्दिवासमा आयोजना गरेको रेडियो र विविधता विषयक अन्तरक्रिया कार्यक्रममा मूख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।
सबैको पहुँचमा रहेको प्रमुख संचार माध्यम रेडियो बाट प्रशारण हुने जनचेतना मुलक कार्यक्रमहरुले थुप्रै कुरितीहरु अन्तको कागारमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सामुदायिक रेडियोहरुको यस अभियानमा प्रदेश सरकार समेत सहयात्री बन्ने प्रतिबद्धता जनाए ।
कानून निर्माणको चरणमा रहेको प्रदेश सरकारले समाजिक रुपान्तरणको क्षेत्रमा गरेको कार्यहरु बारे जनतालाई सुसूचित गराउने अभिभारा सामुदायिक रेडियोहरुको रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले सामुदायिक रेडियोहरुलाई सशक्त बनाउन प्रदेश सरकार अगामी दिनमा रणनीतिनै बनाएर अघि बढने विश्वास दिलाए ।
संघका उपाध्यक्ष निमिष कर्णको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका महासचिव गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघका पूर्व कोषाध्यक्ष शितल साह, मटिहानी नपाका नगर प्रमुख हरि प्रसाद मण्डल सहितका वक्ताहरुले प्रदेश सरकारले सामुदायिक रेडियोहरुको वृति विकासका लागी सहयोग गर्नु पर्ने धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया