सर्लाही, १३ जेठ । हरिवन नगरपालिकाका नगर प्रमुख तथा समुदाय–प्रहरी हरिवन नगरपालिकाका संयोजक गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमअन्तर्गत हरिवन नगरपालिका ९ सुके पोखरीस्थित चतुर्भुजेश्वर महादेव मन्दिरको प्राङ्गणमा ‘लागूऔषध बिरुद्धको युवा सचेतना अभियान’ कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
समुदाय–प्रहरी हरिवन नगर समितिको आयोजना तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रम विद्यालय स्तरका किशोर किशोरीलाई लक्षित गरी सचेतना अभियान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा हरिवन नगरपालिकाका नगर प्रमुख तथा समुदाय–प्रहरी हरिवन नगरपालिकाका संयोजक प्रसाईले दुर्व्यसन विरुद्ध थुप्रै विद्यमान ऐन कानुनको कार्यान्वयन भए पनि चेतनाको अभावमा दुर्व्यसन र हिंसाका घट्नाहरु हुने क्रम नरोकिएकाले त्यसको न्यूनीकरण गर्ने उद्देश्यले युवा वर्ग तथा विद्यार्थीहरुलाई लक्षित गरी यो अभियान आयोजना गरिएको बताए ।
उक्त सचेतना कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले लागू औषध तथा विद्यमान ऐन कानुनमा भएको व्यवस्था, लागूऔषधबाट पर्ने असरहरु, किशोर अवस्थामा हिंसा हुनबाट बच्ने उपायबारे जानकारी गराउनुका साथै अन्तरक्रियात्मक कक्षा संचालन गरेका थिए ।
कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधिहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, स्थानीय विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया