बारा, ७ माघ । समुदाय–प्रहरी साझदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्धारा प्रदान गरीएको प्रशंसापत्र आयोजित एक कार्यक्रबीच जिल्लास्थित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई प्रदान गरिएको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख पवन कुमार व्याहुत, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले संयुक्त रूपमा उक्त प्रशंसापत्र वितरण गरेका छन् ।
कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले समाजमा शान्ति कायम गर्न समुदाय(प्रहरी साझेदारी कार्यक्रम अत्यन्त प्रभावकारी रहेकोले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक प्रमुख विकासराज खनालले धन्यवाद ज्ञापन गर्दै समुदाय–प्रहरी साझेदारीको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
पथलैया ट्राफिक प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतो र ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले समुदाय–प्रहरी साझेदारी तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा प्रस्तुतिकरण गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू, महिला अधिकारकर्मिहरू, संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया