सीमानामा तीन बीओपी थपियो

समाचार

1/13/2020

काठमाडौं, २८ पुस । नेपाल–भारत सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाको तीन वटा बोर्डर आउट पोस्ट (बीओपी) थपिएको छ ।

गुलरिया नगरपालिकास्थित कट्टी, बढैया ताल गाउँपालिकाको कण्ठपुर र मधुवन नगरपालिकाको भग्रैयामा बीओपी सञ्चालनका लागि स्विकृति दिएको हो ।

बर्दियास्थित नेपाल—भारत दक्षिणवर्ती खुला सीमानामा नेपालतर्फ सीमा सुरक्षाबलको तीनवटा पोस्ट थप गरिएको सशस्त्र प्रहरीबल प्रदेश नम्बर ५ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले बताए ।

सीमामा सुरक्षाबलको उपस्थिति कम भएको भन्दै ३१ नम्बर हेडक्वाटर बर्दियाले तीनटा पोस्ट थपका लागि प्रस्ताव पेस गरेको थियो ।

यीबाहेक राजापुर नगरपालिकास्थित मानपुर टपरामा पनि थप्ने नयाँ प्रस्ताव गरिएको छ । गुलरियास्थित कट्टीमा स्थापना गरिएको पोस्टको शुभारम्भको उनले उद्घोष गरे । सरकारले देशैभर एक सय १४ वटा बीओपी थप्ने निर्णय गरेको थियो ।

५ नम्बर प्रदेशमा मात्र ३३ वटा बीओपी थपिँदैछ । बीओपी थप नगर्दा एउटा पोस्टले सीमानामा २० देखि ३० किलोमिटरको दूरीमा सुरक्षा दिनुपर्ने बाध्यता थियो ।

सशस्त्र प्रहरीले जिम्मेवारीमा रहेका सीमा स्तम्भहरूको नियमित अनुगमन, निरीक्षणलगायत जीपीएसमार्फत रेकर्डहरु अद्यावधिक गर्ने काम गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ