समय सापेक्ष विज्ञान र प्रविधिको सही सदुपयोग गर्नुपर्छ : प्रदेश प्रमुख

समाचार

5/4/2019

जनकपुरधाम, २१ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समय सापेक्ष विज्ञान र प्रविधिको सही सदुपयोग गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।

प्रविधिमैत्री शिक्षक समाज नेपालको प्रथम प्रदेश स्तरीय भेलाको शनिबार जनकपुरमा उद्घाटन गर्दे प्रमुख कायस्थले सो कुरा बताएका हुन् ।

उनले शिक्षा जगतमा पहिले देखि नै प्रविधिको प्रयोग हुँदै आईरहेको स्मरण गराउँदै आधुनिक समयमा प्रविधिले गरेको विकासलाई सकारात्मक रुपमा सही सदुपयोग गर्न आग्रह गरेका छन् ।

उनले अचेल युवा वर्गमा प्रविधिको दुरुपयोग गर्ने कार्यहरु पनि भईरहेको प्रति चिन्ता व्यक्त गर्दै प्रविधिको सही सदुपयोग हुन सके कुशल तथा दक्ष युवाहरु तयार हुने धारणा समेत राखेका छन् ।

साथै उनले प्रविधिको दुरुपयोग गर्दै जाँदा बच्चादेखि युवाहरुमा समेत यसको लत बस्ने जिकिर गरे । उनले समाजलाई उत्श्रृखँल बनाउनमा प्रविधिको पनि भुमिका रहेको बताएका छन् ।

प्रविधिको उचित र सकारात्मक प्रयोग गर्दा मानसिक विकास हुने तथा गलत प्रयोग गर्दा नराम्रो विकृति तथा अपराधिक मानसिकताको विकास पनि हुन सक्ने धारणा राखेका छन् ।

कार्यक्रममा प्राध्यापक भोगेन्द्र झाले प्रविधिको विकासले स्वरोजगारमा बृद्धि हुने र समाज सकारात्मक दिशामा अघि बढ्ने धारणा राखेका छन् ।

प्रविधिमूलक सिपको जानकारी भए स्वदेश मात्रै नभएर पुरै विश्वमै रोजगार पाउन सकिने उनले तर्क गरेका छन् ।

कार्यक्रममा अधिकाँश वक्ताले आधुनिक शिक्षा प्रणाली प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

केन्द्रिय समितिका अध्यक्ष विरेन्द्र यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा बल्खु प्रसाद रजक, मोनास्टिक विद्यालयका प्रिन्सिपल सोनु कुमार, केन्द्रिय समितिका सचिव देवी प्रसाद शर्मा, बिश्वलाल सिँह सहितको उपस्थिति रहेको थियो ।

समितिले प्रथम प्रदेश स्तरीय भेलाबाट २५ सदस्यीय तदर्थ समिति चयन गर्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ