राकेश यादव , २ कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य प्रदीप यादवले नेपाल भारत सिमा सील गर्ने सपना नदेख्न संघीय सरकारलाइ सुझाव दिएका छन् ।
नेपाल र भारत विचको सम्वन्धमा दुरी ल्याउने षड्यन्त्र भैरहेकोले सवै मधेशी समुदाय चनाखो भएर बस्नुपर्ने आवश्यकता रहेको उनले बताए । रौतहट जिल्लाको सदरमुकाम गौरमा ‘मिडिया फर बोर्डर हार्मोनी’ एवं गौर नगरपालिका कार्यालयको संयुक्त तत्वाधानमा आयोजना गरिएको नेपाल भारत मैत्रीपूर्ण संवाद कार्यक्रममा सम्वोधन गर्दै सांसद यादवले सिमा सील गर्न खोजे मधेशी समुदाय माथि डोजर चलाउनु पर्ने चेतावनी दिए ।
नेपालका मिडिया काठमाण्डौबाट र भारतका मिडिया दिल्लीबाट मधेशको सिमा समस्या हेर्ने गरेको र दुवै देशको सम्वन्ध बिगार्ने प्रयास गरिरहेकोले त्यस्ता तत्वलाई मीडियाको माध्यमबाट तह लगाउनु पर्ने धारणा पनि व्यक्त गरे । सांसद यादवले खुल्ला बोर्डर मधेशीको लागि ठूलो बरदान रहेकोले बन्द गर्ने दुष्प्रयास गरे ठूलो दुर्घटना हुने चेतवानी दिए ।
संवाद कार्यक्रममा भारतीय बाणिज्य दूतावास वीरगंजका प्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, नेपाल प्रत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रविन्द्र प्रसाद साह, नेपाल तथा भारतका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरु उपस्थित भएका थिए । मैत्री संवाद कार्यक्रमबाट अनुमोदन गरिएका प्रस्तावहरु दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने आयोजक संस्थाले जनाएको छ ।
तपाईको प्रतिक्रिया