काठमाडौं, ४ फागुन । भारतीय जनता पार्टीका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार डा. दिनेश उपाध्यायले भारत नेपालसँगको सीमा विवाद समाधानको लागि जहिल्यैपनि तत्पर रहेको स्पष्ट पारेका छन् ।
काठमाडौंमा भएको साक्षात्कारमा बोल्दै उपाध्यायले नेपाल–भारतबीचको सीमा विवाद समाधानको लागि उच्चस्तरीय वार्ता हुनुपर्नेमा जोड दिए । उनले थपे,‘भारतले बंगलादेशसँगको सीमा विवाद त बडो आरामसँग समाधान गर्यौं, नेपाल त हाम्रो नजिकको छिमेकी हो । हामी ठूलो हृदय बोकेर यसमा समस्याको समाधानको लागि धर्म पालना गर्छौं ।’ उनले नेपाल र भारतबीच कुनै ठूलो बोर्डर समस्या नभएको पनि जिकिर गरे । उनले भने,‘यदि सानातिना विवाद भए हामी आपसमा बसेर यो समाधान गर्न तत्पर छौं । यसको लागि निरन्तर सम्वाद जरुरी छ ।’
नेता उपाध्यायले पछिल्लो समय पूरै विश्वमा प्रलोभन, दबाब र आर्थिक चलखेल गरेर धर्म परीवर्तन गराउने काम भैरहेको भन्दै त्यसमा आपत्ति जनाएका छन् । उनले भने,‘यसरी धर्म परीवर्तन गराउनु गलत हो । यो अवश्यपनि राम्रो काम होईन् । तर, स्वेच्छाले धर्म परीवर्तन गरे भने त्यो स्वागतयोग्य कुरा हो ।’
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर रहेको स्पष्ट पारे । उनले भने,‘नेपाल र भारतबीच एक देश वा छिमेकी छिमेकीबीचको मात्रै सम्बन्ध छैन्, यो चीन, पाकिस्तान वा बंगलादेशजस्तो सम्बन्ध होईन, नेपाल त हाम्रो सहोदर भाई हो । हामीबीच रोटी र बेटीको सम्बन्ध छ ।’ उनले नेपालसँगको सम्बन्धको कुरा गर्दा भारतको आत्मा नेपालतर्फ भएको पनि सुनाए । ‘यो धर्ती रहुञ्जेलसम्म हामीबीचको सम्बन्ध कसैले पनि र कहिल्यैपनि समाप्त गर्न सक्दैन्’–उपाध्यायले भने ।
नेता उपाध्यायले नेपालमा कुनै नोक्शानी भए त्यसको प्रत्यक्ष असर भारतमा पर्ने र भारतमा त्यस्तो भए नेपालमा पनि असर पर्नेपनि सुनाए । उनले भने,‘यदि कुनै एक देशमा लाभ भए त्यसको लाभ अर्को देशमा पनि पर्छ ।’ उनले भारतबाट नेपाललाई कहिल्यैपनि हानी नभएको विश्वास दिलाए । उनले थपे,‘अहिलेसम्म भारतबाट नेपाललाई कुनै हानी भएको छैन, र भोलिका दिनमा पनि हुने छैनन् ।’
उपाध्यायले नेपालमा हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि जनमतसंग्रह गरिनुपर्ने टिप्पणी गरे ।
उनले भने,‘यो मेरो व्यक्तिगत धारणा र भावना हो, नेपाल हिन्दूराष्ट्र हुनुपर्छ । नेपालमा पछिल्लो समय धर्म परिवर्तन भैरहेको छ । यो पाप हो । दबाब, आर्थिक प्रलोभनमा धर्म परीवर्तन गराउन गलत हो, जसले यस्तो गराउँछ उनीहरुलाई मृत्युदण्ड दिनुपर्छ । नेपाल सनातन धर्म हुनुपर्छ ।’
तपाईको प्रतिक्रिया