जनकपुरधाम, २९ माघ । भारतमा हुन लागेको आगामी लोकसभा निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सीमा सुरक्षा बैठक बसेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र भारतको बिहार प्रदेश मधुबनी जिल्लाका डीएम श्री सशक्त कपिल अशोकको अगुवाइमा सम्पन्न बैठकमा लोकसभा चुनावलाई केन्द्रित गरेर सीमा सुरक्षा व्यवस्थाका विषयमा छलफल भएको हो ।
सीमामा हुन सक्ने आपराधिक क्रियाकलापलाई रोकथाम गर्न, नक्कली रुपैयाँको हुन सक्ने ओसारपसार, मानव बेचबिखनजस्ता क्रियाकलापलाई निस्तेज गर्न दुबै पक्षबीच छलफल भएको प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिए । सीमा क्षेत्रमा हुन सक्ने अवैध मदिराको कारोबार, अवैध लागूऔषधको कारोबारलाई समेत पूर्णरुपमा निस्तेज गर्ने गरी सीमामा सुरक्षा व्यवस्था कडाई गर्ने सहमति भएको उनको भनाइ छ ।
यस्तै, मिथिला माध्यमिकी परिक्रमाको बेला नेपालको भूमिमा नेपालका र भारतको भूमिमा भारतका सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्ने सहमति समेत भएको प्रजिअ कणेलले बताए । लोकसभा चुनावमा दुवैतर्फ रहेको खुला सीमा बन्द गर्ने सँगसँगै त्यसअघि हुने आपराधिक क्रियाकलाप र नक्कली नोटको कारोबार समेत रोक्नेतर्फ दुवैतिर सावधानी अपनाउने विषयमा छलफल भएको मधुबनी जिल्लाका डिएम अशोकले बताए ।
भारत बिहारको जयनगरमा उखु किसानको समस्यालाई नेपाल सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरेर समस्या समाधान गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै डिएम अशोक नेपाल आफ्नो परिवारजस्तै रहेको भन्दै नेपालको समृद्धि आफूहरुको पनि चाहना रहेको दाबी गरे ।
नेपाल सरकारले किटान गरेर समस्या बताए भारतबाट अवैध रुपमा साना हतियार तथा लागूऔषध लगायतका समस्याहरु समाधान हुन सक्ने उनको भनाइ छ । आपराधिक समूहले नेपालमा अपराध गरेर खुला सीमाको दुरुपयोग गर्दै भारतमा लुक्ने गरेको विषयमा नेपालको खुटौना र भारतको लौकहाका सुरक्षाकर्मीबीच छलफल भएको उनले बताए ।
बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी गरी २ नम्बर प्रदेशका ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा सशस्त्र प्रहरी बलका उपरीक्षकको लगायतका प्रशासनिक व्यक्तिहरु सहभागी थिए ।
तपाईको प्रतिक्रिया