कैलाली, १३ माघ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कञ्चनपुरको सीमा क्षेत्रमा सर्भेको काम सुरु गरेको छ । भारतीय बजार टकनपुर पावर हाउसमा गत हप्ता बसेको संयुक्त टोलीको बैठकले एक साताभित्र काम थाल्ने निर्णय गरेको थियो ।
कैलालीको सीमा क्षेत्र खक्रौलाबाट सीमास्तम्भ व्यवस्थापन थालेको संयुक्त टोली प्रमुख जनकबहादुर भण्डारीले बताए ।
उनले धेरै ठाउँमा सीमास्तम्भसम्म पुग्नै कठिन हुने बताउँदै टोलीले कैलालीको खक्रौला सीमा क्षेत्रमा रहेको नेपाल–भारत सीमास्तम्भ नम्बर ७०० देखि कञ्चनपुरको ब्रह्मदेवस्थित ८११ नम्बरसम्मका स्तम्भ व्यवस्थापन गर्ने बताए ।
उनका अनुसार सीमास्तम्भ व्यवस्थापनका लागि ५ महिना समयावधि दिइएको छ । टोलीले जीर्ण सीमास्तम्भ मर्मतदेखि हराएका स्तम्भ पुनर्निर्माणसमेत गर्नेछ ।
कञ्चनपुरको खल्लामसेट्टीदेखि डोकेबजारसम्मका ३ सय ९० सीमास्तम्भमध्ये १ सय मात्र ठीक अवस्थामा छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा नेपाल–भारत सीमा छुट्याउने १० वटा स्तम्भ महाकालीको पानीभित्र रहेको ब्रह्मदेवस्थित सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउटपोस्ट)ले जनाएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित प्यारा तालपारि रहेको मुख्य सीमास्तम्भ नम्बर १९५ जंगलमा ढलेको छ । सो स्तम्भ भारतीय पक्षको निगरानीमा छ ।
तपाईको प्रतिक्रिया