सुरक्षा कायम गर्न संयुक्त टोलीद्वारा सीमा निगरानी

समाचार

1/1/2019

कपिलवस्तु, १७ पुस । सीमा क्षेत्रमा सुरक्षा कायम गर्न नेपाल र भारतका सीमा सुरक्षा बलले संयुक्तरुपमा निगरानी गरिरहेको छ ।

कपिलवस्तुको कृष्णनगर सीमा क्षेत्रमा रहेको मित्र राष्ट्र भारतको सिद्धार्थनगर जिल्लाको बढनी बजारदेखी पूर्व र पश्चिम सीमा क्षेत्रहरु खुल्ला सिमाना भएकाले कृष्णनगर सीमा सुरक्षा बल र बढनी सीमा सुरक्षा बल दुबै एकअर्काको सहयोगले अवैध गतिविधिहरुलाई रोक्न सफल भइरहेका छन् ।

आइतबार संयुक्त पार्टी जसमा सशस्त्र सीमा बल निरिक्षक हरा रामसहित ६ जवान, उत्तर प्रदेश मुख्य आरक्षी देवेन्द्र यादव व आरक्षी मृत्युजंय कुशवाह, नेपाल सशस्त्र प्रहरी निरीक्षक जोगेन्द्र केसी लगायत ६ जवान र नेपाल पुलिसका ईलाका प्रहरी कार्यालय कृष्णनगर निरीक्षक सूर्य बहादुर बोगटी, उपनिरीक्षक सन्तोष शाहलगायत ८ जवान नेपाल र भारतका जम्मा २६ जना सुरक्षाकर्मीहरुले पिलर संख्या ५६७ देखि ५६९ सम्म सीमा क्षेत्रमा एकै साथ पेट्रोलिंग गरेका थिए ।

उक्त पेट्रोलिंगको मुख्य उद्देश्य सीमा क्षेत्रमा बसोबास गर्ने जनताहरुलाई सुरक्षाप्रति विश्वास बढाउन र नव बर्ष २०१९ को आगमनको कारणले सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने देखिन्छ ।

सशस्त्र सीमा सुरक्षा बल ५०बीँँ वाहिनीको कमाण्डेट रमन कुमार श्रीवास्तव र उपकमाण्डेट ब्रिजेश सिंह प्रतिहारले सीमा क्षेत्रमा भइरहेको अवैध गतिविधिलाई रोक्न तथा शान्ति सुरक्षा कायम रहोस् भनेर संयुक्त टोलीद्वारा पेट्रोलिंग गरी दुबै देशबीच मेलमिलाप भाईचारा एवं सुरक्षा सदैव कायम रहोस् भन्ने भावनाका साथ उक्त सीमा निगरानी गरिएको जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ