सर्लाहीमा गोली चलाउने प्रहरीलाई कडाभन्दा कडा कारबाही गर्न राजपाको माग

समाचार

7/4/2019

काठमाडौं, १८ असार । सर्लाहीको बाँकेमा प्रहरीको गोली लागि एक जना मारिएको विषयमा राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

राजपा नेपालले आयोगको ध्यानाकर्षण गराउँदै मधेशी अनुहारप्रतिको घृणा सुरक्षा संयन्त्रमा कायम रहेको बताएको छ ।

‘यो देशको सुरक्षा निकायमा मधेशी अनुहारप्रतिको घृणा र द्वेषको भाव अझै पनि कायमै रहेको मधेशी समुदायको बुझाई झनै बलियो हुन गएको छ ।’

शनिबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत सर्लाही जिल्लाको बाँके चौकमा प्रदर्शन गरिरहेकाहरुमाथि प्रहरीले अन्दाधुन्द गोली चलाएको थियो । गोली लागेर इश्वरपुर नगरपालिका वडा नम्बर ३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो ।

उक्त घटनाको विरोध गर्दै मंगलबार राजपाले त्यस क्षेत्रमा प्रदर्शन गरेको छ भने बुधबार राष्ट्रिय मानव अधिकार आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

घटनामा गोली चलाउन आदेश दिने र गोली चलाउनेमाथि कारवाही गर्नुपर्ने माग राजपाको रहेको छ ।

सर्लाही र महोत्तरी जिल्लाको सिमाना रहेको बाँके नदीमा गिटी बालुवा निकाल्दा ३० फिट गहिरो खाल्डो बनेको छ । उक्त खाल्डोमा डुबेर १२ वर्षीय बालक अमृत रायको मृत्यु भएको थियो ।

नदीको बालुवा गिटी दोहनबाट खाल्डो भएको र उक्त खाल्डोमा डुबेर बालकको मृत्यु भएको भन्दै क्षतिपूर्तिका लागि स्थानीयबासीले प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ