काठमाडौं, १५ माघ । भारतको सिलिगुडीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउन करिब ५ अर्ब रुपैयाँ लाग्ने भएको छ । सिलिगुडी–चारआली पाइपलाइनका लागि गरिएको पूर्वसम्भाव्यता अध्ययनले यो परिमाणमा खर्च लाग्ने देखाएको हो ।
नेपाल आयल निगमले पुलचोक इन्जिनियर कलेजलाई पूर्वसम्भाव्यता (प्रि फिजिविलिटी) अध्ययनको जिम्मा दिएको थियो । कलेजका सिभिल इन्जिनियरिङ विभागका सहप्राध्यापक नारायणप्रसाद गौतमका अनुसार सिलिगुडी–चारआली पाइपलाइन र चारआलीमा इन्धनको ९० हजार किलोलिटर भण्डार गृह निर्माण निर्माण गर्न चार अर्ब ७८ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यस अन्तर्गत काँकडभिट्टादेखि झापाको मेचिनगर १३ स्थित चारआलीसम्म पाइपलाइन ओछ्याउन एक अर्ब १९ करोड र भण्डार गृह निर्माण गर्न तीन अर्ब ५९ करोड खर्च लाग्ने गौतमले जानकारी दिए ।
पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन कन्सलटेन्सी समूहले निगमलाई जिम्मा लगाइसकेको छ । यही अध्ययनको आधारमा निगमले काँकडभिट्टा–चारआलीसम्मको ३१ किलोमिटर खण्डमा पाइपलाइन विस्तार गर्ने योजनालाई अघि बढाउँदै छ ।
सिलिगुडीस्थित इन्डियन आयल कर्पोरेसन (आईओसी) को डिपोसम्म पाइपलाइन पहिलेदेखि सञ्चालनमा छन् । यो पाइपलाइन निर्माण भएको खण्डमा भारतसँग अन्तरदेशीय इन्धन आयात गर्ने दोस्रो पाइपलाइन मानिनेछ ।
निगमले चारआलीमा भण्डार गृह निर्माण र पाइपलाइन आयोजना निर्माण गर्न ६२ करोड ६३ लाख रुपैयाँ खर्चेर २३ बिघा तीन कट्ठा १३ धुर जग्गा खरिद गरिसकेको छ ।
यसैबीच पुस २७ र २८ गते भारतमा सम्पन्न भएको नेपाल–भारत पेट्रोलियम तथा प्राकृतिक ग्याससम्बन्धी संयुक्त कार्यदल (सहसचिवस्तरीय संयन्त्र) को बैठकले पनि सिलिगुडी–झापा (चारआली) पाइपलाइन निर्माण गर्ने विषयमा सहमति जनाएको छ ।
यो पाइपलाइन विस्तार भएको खण्डमा प्रदेश १ र प्रदेश २ का सम्पूर्ण जिल्लालाई इन्धनको आपूर्ति सहज हुनेछ ।
तपाईको प्रतिक्रिया