जनकपुरधाम, २ फागुन । धनुषामा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका सप्तरी जिल्ला इन्चार्ज इन्दल साह धानुकलाई पक्राउ गरिएको हो ।
उक्त बम काण्डमा संलग्न आरोपमा उनलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको हो । धानुक यसअघि विप्लव नेकपाकै सिरहा जिल्ला इन्चार्ज रहेका थिए ।
घटनामा संलग्न आरोपमा यसअघि ५ जना पक्राउ परिसकेका छन् । गत मंसिर २७ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा बम विस्फोट गराइँदा महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय औषधि व्यवसायी ४८ वर्षीय राजेश साह र उनका छोरा १६ वर्षीय आनन्द साहको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया