काठमाडौं, १४ जेठ । गत आइतबार सुकेधारास्थित एक सैलुनमा भएको बम विस्फोटमा घाइते भएका सैलुनका सञ्चालक जीव कुमार ठाकुर भनिने छोटु ठाकुरको अविलम्ब उपचारको व्यवस्था मिलाउन नेपाल नाई ट्रेड युनियनले माग गरेको छ ।
सो विस्फोटमा छोटु ठाकुरको कुनै संलग्नता नरहेको र उनी निर्दोष श्रमिक व्यवसायी मात्र रहेको दाबी नाई ट्रेड युनियनको रहेको छ । आइतबार साँझ ४ः१५ बजे ६/७ जना अपरिचित व्यक्तिको समूह सैलुनमा आई आफै पानीको स्प्रे छरी कपाल मिलाउने क्रममा सो विस्फोट हुँदा सो समूहका दुई जनाको घटनास्थलमै मृत्यु भएको र ठाकुरसहित अन्य घाइते भएका थिए ।
घाइतेमध्ये ठाकुरलाई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने सो समूहका अन्य घाइतेहरुको ओम हस्पिटलमा उपचार भइरहेको छ ।
ठाकुरको सो समूहसँग कुनै किसिमको आबद्धता वा सामान्य चिनजानसमेत नरहेको पीडित ठाकुर बताउँछन् ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरका स्थायी निवासी ठाकुर करिब ३० वर्षदेखि सैलुन व्यवसाय गर्दै जीवनयापन गर्दै आएका छन् ।
यता, गृहमन्त्रीले विस्फोटमा मृत्यु हुने र घाइतेहरु सबै विप्लवका कार्यकर्ता भएको वक्तव्य दिएको प्रति नाई ट्रेड युनियनको गम्भीर ध्यानाकर्षण भएको केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले बताएका छन् । गृहमन्त्रीको यस्तो वक्तव्य गैरजिम्मेवारपूर्ण रहेको र एउटा श्रमिकमाथि लाञ्छना लगाउने काम गरेको आरोप अध्यक्ष ठाकुरको छ ।
अध्यक्ष ठाकुर भन्छन्, ‘राज्यले पहिला घाइते ठाकुरको उपचारको व्यवस्था मिलाउनुप¥यो र त्यसपछि सो घटनाबारे छानबिन गरी मात्र यस्ता वक्तव्य दिनुपर्छ ।’ अध्यक्ष ठाकुरले मंगलबार एक विज्ञप्ति जारी गरी विस्फोटको छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने र निर्दोष छोटु ठाकुरलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।
सैलुन व्यवसाय गर्दै जीवनयापन गर्दै आएका छोटु ठाकुरको आर्थिक अवस्था दयनीय रहेको छ । उनी सो व्यवसाय गरेर परिवार चलाउने गरेका छन् ।
तपाईको प्रतिक्रिया