नेपाल–भारत समस्याको निकास सघन संवादको माध्यमबाट खोज्न आग्रह

समाचार

2/19/2020

काठमाडौ, ७ फागुन । भारतका एकजना सेवा निवृत्त कूटनीतिक अधिकारीले अनादिकालदेखि भारत–नेपाल सम्बन्ध रगतको नाताले बाँधिएको बताउँदै दुई देशबीचका सबै समस्याको निकास सघन संवादको माध्यमबाट खोजिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

भारत र नेपालबीचको सम्बन्ध शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित छ भन्दै उनले सहयोगात्मक यो सम्बन्ध दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित रहेको बताए । 

‘नेपाल–भारत सम्बन्ध र भारतको पहिले छिमेक नीति’ शीर्षकमा नीति अनुसन्धान प्रतिष्ठान, नेपालले राजधानीमा आयोजना गरेको प्रवचनमा भारतको प्रतिरक्षा अध्ययन तथा विश्लेषण प्रतिष्ठानका महानिर्देशक सुजन आर. चिनोइले भूमण्डलीकरणको वर्तमान युगमा परस्पर निर्भर सम्बन्धलाई सूचना र प्रविधिको विकासले अझ सहज तुल्याएको उल्लेख गर्दै पारस्परिक सम्बन्ध विस्तारमा कहीँकतैबाट व्यवधान खडा हुन नहुनेमा जोड दिए । 

दुई देशबीचका मुद्दा बृहत् वार्ता, सरकारी एवं जनस्तरका साथै विद्वत् वर्गलगायत सबैको निरन्तर संवादबाट समाधान हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले नेपालसँगको सम्बन्धलाई नयाँदिल्लीले सकारात्मक रुपमा लिएको र त्यसलाई प्रगतिशील देख्न चाहेको स्पष्ट गरे । 

नेपालमात्र नभएर आफ्ना अन्य छिमेकीलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले उच्च प्राथमिकतामा राखेको र त्यसैअनुरुप व्यवहार गर्दै आएको उनको भनाई छ ।

भूकम्पपछि तत्काल राहत तथा उद्धारमा भारतले निर्वाह गरेको भूमिका, पुनःनिर्माणका परियोजनामा तदारुकता, आवास परियोजनाको शीघ्र निर्माण र कार्यान्वयन, पेट्रोलियम पाइप लाइन निर्माण, जनकपुर–जयनगर रेलसेवा सञ्चालनको तयारीमा आइपुगेको वर्तमान अवस्थाले पनि प्रधानमन्त्री मोदीको ‘छिमेक पहिले’ नीति नेपालको हकमा पनि लागू भएको पूर्वराजदूत चिनोइले बताए । 

नेपालस्थित् भारतीय दूतावासका कार्यवाहक राजदूत अजयकुमारले ‘सबैको साथ सबैको विकास’ प्रधानमन्त्री मोदीको परिकल्पना र ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने प्रधानमन्त्री ओलीको आकांक्षाले दुई देशका प्रधानमन्त्रीको राष्ट्र निर्माणप्रतिको प्रतिबद्धता प्रतिविम्बित हुन्छ भन्दै भारतको विकासबाट नेपाल पनि लाभान्वित होस् भन्ने आफ्नो देशका राजनीतिक नेतृत्वको हृदयदेखिको चाहना भएको बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ