काठमाडौ, १५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि सबैका लागि प्रेरणाको स्रोत भएको बताएकी छन् ।
महेन्द्रनारायण निधि प्रतिष्ठानले स्व निधिको ९७औं जन्मजयन्तीको अवसर पारेर काठमाडांैमा आयोजना गरेको कार्यक्रममा उहाँले स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनमा इतिहासकै एक ‘निधि’का रुपमा रहनुभएको छ भनिन् ।
स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनका ‘युग पुरुष’ भएको उल्लेख गर्दै उनले जनताको हकअधिकार प्राप्तिमा सधैँ अग्रपङ्क्तिमा रहेर लडेका निधिले प्राप्त प्रजातन्त्र, जनताको हकहितको संरक्षण एवं संवद्र्धनमा समेत आफूलाई समर्पित गरेको बताइन् ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले स्व निधिको सम्मानमा स्थापित ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ तथा उनकी धर्मपत्नीको सम्मानमा स्थापित ‘प्रेमसागरीदेवी निधि पुरस्कार’ २०७४ र २०७५ बाट समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिन ।
राष्ट्रपतिले २०७४ सालको ‘महेद्रनारायण निधि राष्ट्रिय पुरस्कार’ वाङ्मय शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी र स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिनुभएका डा गौरीशङ्करलाल दासलाई संयुक्त रुपमा प्रदान गरिन् ।
उक्त पुरस्कारको राशि एक लाख एक हजार रहेको छ । २०७४ सालको ‘प्रेमसागरीदेवी निधि पुरस्कार’ महिला चेतना विस्तार र जागरणमा सक्रिय कुमारीलक्ष्मी राईलाई प्रदान गरियो । उक्त पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।
त्यस्तै राष्ट्रपति भण्डारीले २०७५ सालको ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार’ प्रजातान्त्रिक योद्धा तीर्थराम डङ्गोल र मानवअधिकारवादी रामनारायण देवलाई संयुक्त रुपमा प्रदान गरिन् ।
२०७५ सालको ‘प्रेमसागरीदेवी निधि पुरस्कार महिला जागरणका साथै सामाजिक सुधार अभियानमा संलग्न शान्ति कार्की र मानवअधिकारका लागि एकल महिलाको संरक्षण संरक्षणकी अध्यक्ष मैना कार्कीलाई प्रदान गरियो ।
तपाईको प्रतिक्रिया