काठमाडौं, १२ माघ । नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले आत्मनिर्णयको अधिकार सहितको स्वायत्त ताम्सालिङ निर्माणको लागि अब तामाङहरु दीर्घकालीन संघर्षमा जाने बताएका छन् ।
सोनाम ल्होछार–२८५६ (जिवा÷नाम्युङ ल्हो, मुसाबर्ष) को अवसरमा काठमाडौको टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै गोलेले यस्तो बताएका हुन् ।
ताम्सालिङ प्राप्तिका लागि निकट समयमा उनले पहिलो चरणमा काठमाडौंको सिंहदरबार अगाडि एक लाखभन्दा बढी तामाङ जनताको शान्तिपूर्ण शक्ति प्रदर्शन गरिने बताए ।
यो शक्तिलाई राज्यले नजरअन्दाज गरे १०० जना तामाङको टाउकोहरु बम बनेर बिष्फोट हुनेछन् गोलेले अगाडि भने, यसबाट बिगतदेखि बदलिन नसकेको थोत्रो सिंहदरबारमा १० रेक्टरको भुकम्प जानेछ र त्यही खरानीको थुप्रोमाथि तामाङको नयाँ इतिहास कोरिनेछ ।
प्रदेश सरकारले ३ नं. प्रदेशको ऐतिहासिक सभ्यतालाई कुल्चेर पञ्चायती नाम ब्युँताउँदै बागमती प्रदेश नामाकरण गरेकोमा उनको गम्भीर आक्रोश थियो ।
राणाकाल र पञ्चायतकालमा ऐतिहासिक उत्पीडन भोगेको तामाङ समुदायलाई क्षतिपूर्ति स्वरुप उनीहरुको पहिचानको सम्मान गर्नुपर्नेमा त्यसबाट गणतान्त्रिक सरकार चुकेको गोलेको भनाई थियो ।
अत्यन्तै आक्रोशित र भावुक शैलीमा प्रस्तुत भएका गोलेले अब यो राज्यसत्तासँग अन्तिम हिसावकिताव मिलान गर्नुपर्ने दिन आएको बताए ।
उनले भने, यो राज्यले मेरो पुर्खालाई भिमफेदीबाट गाडी बोकाएको ज्याला भूक्तानी गर्न बाँकी छ, अब सावाँब्याज एकमुष्ट चुक्ता गरिनेछ ।
तामाङले सत्तासँग चर्को कुरा गर्नु आफ्नो अधिकार भएको उनको दाबी थियो । अहिलेका शासकहरुले शासन चलाउने सिंहदरबारको प्रत्येक इँटाको टुक्राटुक्रामा आफ्नो पुर्खाको रगत र पसिना बगेको बताउँदै उनले भने, तामाङहरु आगोका भुङ्ग्रो भइसकेका छन् । आगोसँग खेल्ने दुस्साहस गरेमा यो राज्यलाई निकै महंगो पर्नेछ ।
तपाईको प्रतिक्रिया