नेपालगञ्ज, ७ पुस । बाँके नेत्रहीन संघका दृष्टिविहीन बालबालिकालाई सहरी विकासमन्त्री मो. इश्तियाक राईले न्यानो कपडा वितरण गराएका छन् ।
शुक्रबार बिहान संघको कार्यालयमै गई मन्त्री राईले दृष्टिबिहीन बालबालिकाका लागि ४९ थान न्यानो कपडा (स्वेटर) उपलब्ध गराएका थिए ।
बालबालिकाहरुलाई कपडा वितरण गर्दै मन्त्री राईले दृष्टिबिहीन बालबालिकालाई थोरै भएपनि सहयोग गर्न पाउँदा हर्षित भएको बताए ।
उनले भविष्यमा पनि दृष्टिबिहीन बालबालिकाका लागि व्यक्तिगत र सरकारका तर्फबाट सहयोग जुटाउन प्रयत्न गर्ने बताए । संघको छात्राबासमा बस्दै आएका अधिकांश विद्यार्थीहरु मंगल प्रसाद माध्यामिक बिद्यालयमा अध्ययनरत छन् ।
मंगल माबिमा वाटर कुलर नहुँदा दृष्टिबिहीन बालबालिकालाई पानी पिउन समस्या भएको भन्दै त्यसको व्यवस्था मिलाईदिन संघले गरेको अनुरोधपछि मन्त्री राईले भने, ‘दृष्टिबिहीन बालबालिकाहरुका लागि म चाँडै नै मंगल माबिमा वाटर कुलर जडान गर्ने व्यवस्था मिलाउँछु ।’
मन्त्री राईसँग संघका पदाधिकारी र मंगल माबिका प्राचार्यले दृष्टिबिहीन बालबालिकाको अध्ययनका लागि छुट्टै भवनको आवश्यकता औंल्याएका थिए ।
मन्त्री राईले दृष्टिबिहीन बालबालिकाको अध्ययनका लागि छुट्टै भवन बनाउन संसद विकास कोषबाट रकम विनियोजन गर्न आफू तयार रहेको जवाफ दिएका थिए ।
उनले भने, ‘भवन बनाउनका लागि पनि म सकारात्मक छु । यसलाई म पहिलो प्राथमिकतामा राखेर अघि बढ्छु ।
तपाईको प्रतिक्रिया