पर्सा, १० असार । वीरगंज महानगरपालिका ६ माईस्थानबाट हुण्डी कारोबारमा संलग्न ८ जनालाई नगद ४१ लाख ९२ हजार ९ सय रुपैयाँ र २ केजी ९० ग्राम चाँदी जस्तो देखिने वस्तु सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका ७ बस्ने ३३ वर्षीय बिनोद सुनार, पर्सा छिपहरमाई नगरपालिका २ बस्ने ३५ वर्षीय राज कपुर साह, पर्सा वीरगंज महानगरपालिका १० बस्ने २६ वर्षीय चन्दन कुमार सर्राफ, पर्सा वीरगंज महानगरपालिका ६ बस्ने ३७ वर्षीय राकेश कुमार सिंह, पर्सा विन्दवासिनी गाउँपालिका २ बस्ने २४ वर्षीय सुजित कुमार साह, बारा परवानीपर गाउँपालिका १ बुनियाद बस्ने २९ वर्षीय घनश्याम सर्राफ, भारत विहार मोतिहारी पूर्वी चम्पारण बस्ने ३६ वर्षीय सुनिल कुमार प्रसाद र भारत विहार मोतिहार नैनपुर बस्ने ३५ वर्षीय गुलाब साह रहेका छन् ।
उक्त ठाउँस्थित केपी स्वर्ण कलाकेन्द्र सुनचाँदी पसलमा हुण्डी कारोबार हुँदैछ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त रकमसहित फेला पारी पक्राउ गरेको हो ।
साथै जिल्ला प्रहरी कार्यालय पर्सा र आन्तरिक राजश्व कार्यालय वीरगंजबाट खटिएको संयुक्त टोलीले उक्त पसल सिल गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया