काठमाडौं, ८ जेठ । निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकातासम्मको हवाइ भाडादर निश्चित गरेको छ ।
कम्पनीका अनुसार काठमाडौं–कोलकाता उडानको दुईतर्फी भाडा प्रतियात्रु २२ हजार रुपैयाँ लाग्नेछ । काठमाडौं–कोलकाता भाडादर १० हजार ४ सय ४० रुपैयाँ तोकेको कम्पनीले कोलकाता– काठमाडौं भाडा भने ११ हजार ५ सय ६० रुपैयाँ तोकेको छ ।
बुद्धले आगामी जेठ १३ देखि कोलकातामा सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान हुने जनाएको छ । कोलकाता उडानमा बुद्धले नयाँ खरिद गरेको ७२ सीटे एटीआर ७२–५०० ले उडान गर्नेछ ।
९ एनएमवाई कलसाइनको उक्त विमानको काठमाडौंको उडान नम्बर यु४ १६३ र कोलकाताको उडान नम्बर यु४ १६४ रहेको छ । काठमाडौंबाट कोलकातासम्मको हवाइ दूरी १ घण्टा ३० मिनेटको हुनेछ ।
गत वर्षको जुनबाट अन्तर्राष्ट्रिय उडानमा भारतको बनारसमा नियमित उडान गर्दै आएको बुद्धले कोलकातापछि गुवाहटीमा उडानको तयारी थालेको छ । गुवाहटीमा आगामी अगष्ट ३ (साउन १८) गतेदेखि साताको दुई उडान भर्ने तयारी गरेको छ । तर भारतको सिभिल एभिएसनले हालसम्म उडान अनुमति दिएको छैन ।
तपाईको प्रतिक्रिया