हामी १५औं वर्षमा

समाचार

4/19/2019

मधेशवाणी पत्रिका आफ्नो यस अंकदेखि पन्ध्रऔं वर्षमा प्रवेश गरेको छ । समुदायप्रति हाम्रो दायित्व र विभेदमुक्त नेपाल बनाउने सोचका साथ मधेशवाणीको स्थापना गरिएको थियो ।

सत्ता विभेद, संरचनागत विभेद, शासकीय विभेद, साम्प्रदायिक विभेद र स्वसामुदायिक विभेदका विरूद्धमा सक्रिय रहेका मधेशवाणी पत्रिका राष्ट्रिय एकता, राष्ट्रियता र मधेशवादप्रति समर्पित छ ।

हामीलाई १४ वर्षे यात्रामा सहयोग गर्नुभएका सम्पादकमण्डल, पत्रकार, कर्मचारी, विज्ञापनदाता, वितरक, पाठक र शुभेच्छुक वर्गप्रति कृतज्ञता ज्ञापन गर्दछु ।

हाम्रो मधेशवाणी परिवार मधेशी जनता र राष्ट्रप्रति थप जिम्मेवार भएर कार्य गर्ने कुरामा सबै पक्षलाई विश्वस्त गराउन चाहन्छु ।

सक्षम, समृद्ध र विकसित मधेशसहितको नेपाल हामीलाई चाहिएको छ । विभेदमुक्त समाज चाहिएको छ । साम्प्रदायिक विभेद र मधेशी भए बापत पाइने पीडाबाट मुक्ति चाहिएको छ ।

साझा, स्वतन्त्र र विभेदमुक्त नेपाल निर्माणमा सबै तह र तप्काको सहकार्य खोज्दै मधेश र मधेशीमा रहेको कमीकमजोरी तथा राम्रा पक्षलाई औल्याउँदैै हामी अघि बढ्ने छौं ।

अधिकार प्राप्तिको आन्दोलन थप कठिन र दमनपूर्ण हुने सम्भावना छ । मधेशकेन्द्रित दलप्रति विश्वासमा कमी र अवसरवादी चरित्रका कारण मधेश आन्दोलनका उपलब्धी प्रायः समाप्त भएको छ र नयाँ आन्दोलनको सम्भावना क्षिण हुँदै गएको छ ।

मधेशी जनताप्रति हाम्रो दायित्व र नेतृत्वसँग कार्यगत विमति कायम नै छ । मधेशी नेतृत्वले मधेश विरोधी गर्ने प्रत्येक कार्यका विरूद्धमा मधेशवाणी सक्रिय रहिरहने कुरामा हामी प्रतिबद्ध छौं ।

गुण र दोषको आधारमा मात्र समर्थन वा विरोध गर्ने हाम्रो पारिवारिक चरित्रले निरन्तरता पाउने कुरामा सम्पूर्ण पाठक र समुदायलाई विश्वस्त रहन आग्रह गर्दछु ।

मधेशवाणी परिवार मधेशी जनतालाई केन्द्र(मुटु) मा राखेर बाँकी घटकसँग कार्यका आधारमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दछ ।

प्रकाशक

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ