बाँके, १७ चैत्र । मानव अधिकारवादी संस्था मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) बाँकेले शनिबार नेपालगन्जमा आफ्नो ७औं वार्षिकोत्सव मनाएको छ ।
पूर्वन्यायाधीश डा. सलाहुद्दीन अख्तर सिद्धिकिको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटनको क्रममा मानव अधिकार भनेर मात्र हुँदैन, पहिला मानव अधिकार भनेको के हो ? त्यो बुझ्नु जरुरी रहेको प्रमुख अतिथि डा. सिद्दिकिले भने ।
उनले भने, ‘मानव अधिकार के हो, किन बनाइयो, कसका लागि बनाइयो, त्यसको मूल मर्म के हो भन्ने कुरा पहिला जान्न र बुझ्नु पर्छ ।’ यस्ता कुराहरु पहिला मानवअधिकार संघ संस्थाहरुले जनतालाई बुझाउनु पर्ने भन्दै प्रत्येक नागरिकको वरावर बिकास हुनुपर्ने र प्रत्येक परिवारको संरक्षणको लागि राज्यलाई झकझकाउनु पर्ने कर्तव्य भएको पनि उनले बताए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले मानव अधिकार क्षेत्रमा काम गर्न उपमहानगरपालिका सदैब तत्पर रहेको भन्दै हुरीपप संग सहकार्य गर्न आफू तैयार रहेको प्रतिबद्धता जनाए ।
कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, खजुरा गापा वडा न. ४ का वडा अध्यक्ष तिलकबिर सुनार, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जकी अधिकृत द्वारिका अधिकारी, जनमत पार्टीका ईरफान शेष, नेपाल ईक्रा एजुकेशन फाउन्डेसनका अध्यक्ष शक्ति कुमार बंशकार, बालधिकारकर्मी शाहिल अन्सारी, काँचुली खबरका सम्पादक गजेन्द्र गुरुङ लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
दुई पत्रकार सहित जनप्रतिनिधिहरु सम्मानित
वार्षिकोत्सवमा पत्रकारीता र मानव अधिकार क्षेत्रमा योगदान पुर्याएको भन्दै हुरीपपले नेपालगन्जका दुई पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा गुड न्युज साप्ताहिकका सम्पादक, रेडियो मर्निङ स्टारका स्टेसन प्रमुख तथा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धिताल र काँचुली मिडिया प्रालिका अध्यक्ष तथा काँचुली खबरका सम्पादक गजेन्द्र गुरुङ रहेका छन् ।
त्यसैगरी स्थानीय तहमा मानवाधिकार मैत्री सेवा प्रदान गर्ने तर्फ अग्रसर भएको भन्दै खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपती, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी, खजुरा – ४ का वडा अध्यक्ष तिलकबिर सुनार, खजुरा – ७ का वडा अध्यक्ष अतिउल्ला खाँ लगायतका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा मानव अधिकारकर्मी शक्ति कुमार बंशकार,मानवअधिकारकर्मी असलम भाट र बालअधिकार क्षेत्रमा उल्लेखनिय योगदान र्पुयाएको भन्दै शाहिल अन्सारीलाई हुरीपप अवार्डबाट सम्मान गरिएको थियो ।
सम्मानित सबैलाई प्रमुख अतिथी पूर्वन्यायाधीश डा. सलाहुद्दीन अख्तर सिद्धिकिले खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
हुरीपपका अध्यक्ष आलम खानले, मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र हुरीपपले स्थानीय मानव अधिकार रक्षकहरुलाई संगठीत गरी स्थानीय निकायको सहयोगमा क्षमता अभिबृद्धि गर्ने योजना बनाएको बताएका थिए ।
मानव अधिकार उल्लघनको घटनाहरुको सुक्ष्म रुपमा अध्ययन गर्ने काम गरी रहेको हुरीपपले आफनो स्थापना कालमा गैर न्यायीक हत्याको घटनाको दस्ताबेजीकरण गरेको अध्यक्षले बताउनु भयो । यातना,गैरकानुनी पक्राउ, जातीय विभेद लगायतको मुद्दामा संस्थाले काम गर्दै आएको जिकिर गरेका थिए । खानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार डक्ट प्रसाद धितालले स्वागत गरेका थिए भने सचिव अस्लम भाटले संचालन गरेका थिए ।
तपाईको प्रतिक्रिया