हावाहुरीमा परी घाइते भएकाहरुका लागि बाँकेमा रक्तदान

समाचार

4/2/2019

बाँके, १९ चैत । बारा र पर्सामा हावाहुरीमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

आइतबार राति आएको हावाहुरीबाट घाइते भएकाहरुको उपचारमा रगतको अभाव भएको समाचार सार्वजानिक भए पछि मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्र हुरीपपको आयोजना र नेपालगंज ग्यालेरीको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

रगत संकलन गरी हवाइ मार्गबाट काठमाडौ हुँदै बारा र पर्सा पठाइने तयारी भए पनि बारा र पर्सामा रगत प्रयाप्त भएको जानकारी आए पछि रक्त संचार केन्द्र नेपालगजको जिम्मामा संकलित रगत राखिएको हुरीपपका अध्यक्ष आलम खानले बताए ।

हुरीपपका सचिव असलम भाट र सहसचिव मोहिनी बाल्मीकीको संयोजकत्वमा आयोजना गरिएको खुला रक्तदान कार्यक्रममा सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायत संलग्न रहेका २० जना यूवाहरुले रक्तदान गरेको आयोजकले जनाएको छ ।

आइतबार राति आएको हावाहुरी र आँधीबाट ३५ जनाको मृत्यु भएको प्रदेश नं २ सरकारले पुष्टी गरिसकेको छ । अन्य ५०० भन्दा बढी घाइते भएका छन् ।

रातको समयमा आएको आँधी हुरीले बाराका अधिकांश घरका छाना उडाइदिएको छ । घरको छाना र कतिपय घरै भत्किएपछि अन्न लत्ता कपडाको अभावमा बृद्ध – बृद्धा बालबच्चाहरुको बिचल्ली भएको छ ।

थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख एंव हुरीपपका केन्द्रीय अध्यक्ष आलम खानले ठूलो जनधनको क्षति हुने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै प्रकोप प्रभावित बारा र पर्सामा आवश्यक औषधि र दक्ष चिकित्सकहरुको टोली तत्काल व्यवस्था गर्नुपर्ने, घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन र मृतका परिवारलाई तत्काल राहत उपलब्ध गराउन अपिल गरे ।

उहाँले घाइतेहरुको उद्धार, उपचार तथा मानवीय सहायताका लागि अविलम्ब सहभागी हुन राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय संघसंस्था, नागरिक समाजलगायत सबैलाई अपील गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ