वीरगंज, २१ चैत । हावाहुरीको विपतिबाट प्रभावित भएकाहरुलाई लायन्स क्लब इन्टरनेशनलले राहत सामग्री वितरण गरेको छ ।
वीरगंज महानगरपालिका वडा नम्बर १८ को सुखचैना, वडा नम्बर २२ को जगरनाथपुर र सौराहाका प्रभावितहरुलाई लायन्स क्लब इन्टरनेशनलले राहत सामग्री वितरण गरेको हो ।
हावाहुरीबाट बढी क्षति भएको वीरगंज महानगरको सुखचैनाका १ सय २५ घर परिवारलाई लायन्स क्लब इन्टरनेशनलले राहत सामग्रीको रुपमा अति आवश्यक पर्ने त्रिपाल, झुल, चामल, दाल, नुन, तेल, मशाला, आलु प्याज, टर्चलाईट र भुईमा ओछयाउने फोमको चटाई वितरण गरिएको थियो ।
त्यसैगरी, जगरनाथपुरमा ४० तथा सौराहामा ३० घर परिवारलाई राहत सामग्री वितरण गरिएको हो ।
हावाहुरीबाट प्रभावितहरुलाई राहत वितरण गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले निजी क्षेत्रबाट विभिन्न संघ संस्थाहरुले यस्तो विपदको बेला ठुलो मन राखेर सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।
हावाहुरीबाट प्रभावित भएकाहरुलाई आइतबार रातीदेखि नै अहिलेसम्म समेत निजी क्षेत्रबाट विभिन्न व्यक्ति तथा संस्थाहरुले पीडितहरुका लागि खाना खुवाउनेदेखि लिएर बस्नका लागि त्रिपाल तथा अस्थायी रुपमा टेन्टसमेत निर्माण गर्ने कार्य गरिरहेकोमा प्रशंसाको पात्र रहेको बताए ।
तपाईको प्रतिक्रिया