रौतहट, २७ चैत । मंगलबार बिहान आएको हावाहुरी, पानीसँगै परेको अविरल असीनाले रौतहटमा बालीनालीमा व्यापक रुपमा क्षति पुर्याएको छ । तेज हावा, वर्षा र असीनाले गहुबाली, खपडा, टायलको छाना भएको घर, आप, केराको बोट, लिची लगायतको बालीमा व्यापक रुपमा क्षति पुगेको हो ।
आसीनाले बृन्दावन, देवाही गोनाही, माधवनारायण, परोहा नगरपालिकाको वडा नम्बर १,२,३ गौर नगरपालिकाको वडा नम्बर ९, राजदेवी नगरपालिकाको १,७ वडा सबैभन्दा बढी प्रभावित भएका छन् । हावाहुरीबाट फुसको घर उडाएको छ भने रुख विरुवाहरु ढलेका छन् । जस्ता र फुसको घरको छाना उडाएको तथा असीनाले खपड़ा क्षतिग्रस्त भएको छ ।
राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालवामा सयौ विघा जग्गामा लगाइएको गहुबाली, मकै, तेलहन बाली क्षति भएको छ ।
असीना, हवाहुरीको प्रभाव सदरमुकाम गौरदेखि पूर्व, पश्चिम र उत्तरमा बढी देखिएको छ । सीमावर्ती भारतमा हावा र पानी परेको छ । बिहार सीतामढी जिल्लाको ढेंग, सशौला, नरहा, बखरीमा हावाले घर उडाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले बालीनाली सबैभन्दा बढी क्षति भएको तथा घरहरु सामान्य रुपमा क्षति भएको जनाएको छ । गहुबाली क्षति भएको कारण किसानहरु मारमा परेका छन् ।
असीनामा बृन्दावन नगरपालिकामा एक जना घाइते भएको प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताएका छन् । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया