काठमाडौं, २६ मंसिर । नेपालमा ११ वटा सांस्कृतिक सम्पदाको भूकम्पपछिको पुनर्निर्माणका लागि काठमाडौंस्थित भारतीय राजदूतावासले इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्ट्याक)सँग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा भारत सरकारको तर्फबाट काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. अजय कुमार तथा इन्ट्याककी सदस्यसचिव डा. सीटी मिश्राले हस्ताक्षर गरेका थिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका वरिष्ठ अधिकारी तथा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी पनि कार्यक्रममा सहभागी थिए ।
इन्ट्याकले काठमाडौं, ललितपुर, भक्तपर र सोलुखुम्बु गरी चार जिल्लाका ११ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा प्रदान गर्नेछ ।
इन्ट्याकको भारतभर १ सय ९० भन्दा बढी शाखाहरु रहेका छन् । इन्ट्याक विश्वको सबैभन्दा ठूलो सांस्कृतिक सङ्गठनहरुमध्ये एक हो । सन् २००७ मा संयुक्त राष्ट्र संघ आर्थिक तथा सामाजिक परिषद्का लागि यसलाई विशेष परामर्शदातृको रुपमा लिइएको थियो ।
तपाईको प्रतिक्रिया