१ महिनाभित्र राइस मिलको जग्गा नगरपालिकाको हुने : सभामुख यादव

समाचार

3/25/2019

रौतहट, ११ चैत । प्रदेश २ का सभामुख सरोज यादवले गौर राइस मिलको जग्गा चाँडै गौर नगपालिकाको नाउँमा आउने बताएका छन् ।

यसअघि मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी र आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले राइस मिलको जग्गा छिट्टै अधिग्रहण हुने प्रतिवद्धता व्यक्त गरिसकेका छन् ।

गौर नगरपालिका ५ स्थित रहेको श्रीराम मंदिर पुनर्निर्माण गर्ने उद्देश्यले सनातन युवा मंच नेपालको प्रस्तुति तथा श्री राम मन्दिर संरक्षण समिति, श्रीमद भागवत महापुराण मूल समिति गौर ५ को संयुक्त आयोजनामा गौर राइस मिलको मैदानमा आयोजित श्रीमद भागवत महापुराण ज्ञान सप्ताह महायज्ञको आइतबार उदघाटन गर्दै सभामुख यादवले १ महिना भित्रै राइस मिलको जग्गा गौर नगरपालिकाको हुने उद्घोष गरेका छन् ।

सभामुख यादवले धर्म सस्कृतिको रक्षा, जगेर्ना गर्नुपर्ने आवश्यक रहेको बताए । प्रदेश सरकार भाषा, सस्कृति, कला, धर्म लोप हुँदै गएको संस्कृतिको संरक्षण गर्न सक्रिय रहेको जानकारी गराए । सभामुख यादवले यज्ञमा २५ हजार रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

कार्यक्रममा गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले ऐतिसाहिक पृष्ठभूमि रहेको राइस मिलको जग्गा प्रदेश सरकारले छिटोभन्दा छिटो अधिग्रहण गरी गौरबासी, रौतहटबासीको इच्छा आकांक्षा पूरा गर्नु पर्ने जोड दिएका छन् ।

प्रदेश सरकारका मुख्यमन्त्री, कानूनमन्त्री तथा सभामुखले जग्गा अधिग्रहण गर्ने बाचा गरिसके पनि बाचा पूरा कहिले हुने भनी नगरबासी आशमा बसेको बताए ।

लामो समयसम्म राइस मिलको जग्गा अधिग्रहण गर्न प्रयास जारी रहँदा पनि विभिन्न बहानामा अहिलेसम्म सो जग्गा अधिग्रहण हुन सकेको छैन ।

गौरको जनता नेता ,मंत्रीको झूठो आश्वासनमा अधिग्रहण हुने भनी पर्खी बसेका छन् ।

सात दिनसम्म चल्ने महायज्ञमा संत युवा धर्म गुरु श्री श्री निवासाचार्य ज्यू द्वारा कथा प्रवचन गरिने कार्यक्रम रहेको आयोजक सस्थाले जनाएको छ ।

यज्ञ शुरू हुनु पहिला भव्य रुपमा कलश शोभा यात्रा निकालिएको थियो । उदघाटन समारोहमा विभिन्न क्षेत्र सित आवद्ध व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ