काठमाडौं, ७ माघ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ । भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।
नेपाल आइपुग्नासाथ सञ्चालनको तयारी अघि बढ्ने विभागका महानिर्देशक बलराम मिश्रले बताए । फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी अघि बढिरहेको उनको भनाइ छ ।
सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको छ । रेल सेट आइपुगेको केही समयपछि सञ्चालन गर्न सकिने छ । दुई वटा सेट खरिद गर्न लागिएकामा पहिलो सेट आइपुगेको केही समयपछि अर्को आइपुग्ने छ ।
सरकारले अहिले दुई वटा सेट खरिद गर्दा त्यसमा जम्मा १० डिब्बा रहन्छन् । यी दुई सेटको क्षमता एक हजार दुई सयसम्म यात्रु बोक्ने रहेकोछ ।
भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।
कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।
तपाईको प्रतिक्रिया