५९ मैट्रिक टन गहुँको बीउ अनियमितताबारे प्रदेश सरकार उदासीन

समाचार

12/23/2018

राकेश यादव, रौतहट, ८ पुस । उन्नत जातका गहुँको बीउमा भएको अनियमितताबारे प्रदेश २ को सरकार गम्भीर भएन ।

सहूलियत दरमा किसानका लागि प्रदेश सरकारले रौतहटमा राष्ट्रिय बीउ बिजन कम्पनीबाट पठाएका ५९ मैट्रिक टन गहुँको बीउ डीलरहरुले महंगो मूल्यमा बिक्री गरी अनियमितता गरेको विषयमा छानविन गर्न तत्परता देखाएको छैन ।

जिल्ला कृषि ज्ञान केन्द्र रौतहटको मिलोमतोमा गहुँको बीउमा अनियमितता भएको किसानहरुको आरोप रहेको छ ।

जिल्लामा रहेका कृषि सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउन ज्ञान केन्द्रले गौर, गरुडा, शिवनगर, चन्द्रनिगाहपुरमा दिइएको अनुदानको बीउ किसान समक्ष नपुग्दै बाटोबाट नै गायब भएको हो ।

ज्ञान केन्द्रका प्रमुख राजनारायण यादवले चाहिएको जति बीउ उपलब्ध नभएको जनाएका छन् । जिल्लाबाट सिफारिश गरिएको २७५ मैट्रिक टन मध्ये ५९ मैट्रिक टन मात्र आएको यादवले जनाएको छ ।

गहुँको बीउ लगिएको डीलरहरुले संस्थामा रहेका व्यक्तिहरूलाई बढी बीउ दिइएको देखिए पनि सम्बन्धित निकायले कुनै चासो देखाएको छैन ।

गहुँको बीउ दिने भनेर बीउ लिन आउँदा नदिएपछि एक जना किसानको मृत्यु भएको थियो ।

किसानका लागि आएको सहुलियत अनुदानको बीउमा भएको अनियमितताको सम्बन्धमा संचारमाध्यमहरुमा आएको समाचार प्रति प्रदेश २ का सरकार गम्भीर हुन नसक्दा किसानहरु मधेश सरकारले पनि भ्रष्टाचारीलाई संरक्षण गरिरहेको भन्दै आलोचना गरिरहेका छन् ।

राजदेवी नगरपालिका ७ का किसान धनपत राय यादवले सस्तो दाममा बीउ पाउँछु भनी गरेको आशा निराशामा परिणत भएपछि चर्को मूल्यमा खरीद गरी बीउ छर्केको बताएका छन् ।

उनले बीउ अनियमिताको विषयमा सरकारले कडाईका साथ अनुगमन अनुसन्धान गरी कार्यवाही गर्नु पर्ने माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ