जनकपुरधाम, १० फागुन । भिडियो खिचेको निहुँमा मेयरको निर्देशनमा कुटपिट र अपहरण प्रयास गरेको भन्दै बारा जिल्ला प्रहरी कार्यालयमा ८ जनाविरुद्ध उजुरी परेको छ ।
महागढीमाई नगरपालिका २ बरियारपुर महेन्द्र भनेर चिनिने हरेन्द्र महतोले आफ्ना छोरा मुकेशलाई स्थानीय बरियारपुर बजारमा पसलमा बसिरहेका बेला एक समूहले कुटपिट गर्दै अपहरण गर्ने प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् ।
महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवको निर्देशनमा मुकेशलाई कुटपिट गरी अपहरण गर्न खोज्ने नगरप्रहरी र मेयरका केही आफन्तविरुद्ध जाहेरी दिइएको पीडितले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयमा ८ जनाविरुद्ध जाहेरी परेको जानकारी दिँदै बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने बताए । आफूलाई शौचालयमा थुनेर दुव्र्यवहार गरेको भन्दै हरेन्द्रले महागढीमाई नगरपालिकाका मेयर यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामै भेदभाव तथा अपमानजन्य व्यववहारसम्बन्धी जाहेरी दिएका छन् ।
स्थानीय निर्माणाधीन अधुरो नाला निरीक्षण क्रममा मुकेशले मेयर यादवको प्रतिक्रियासहितको भिडियो खिच्न खोजेपछि उनले हप्काएका थिए । त्यही भिडियो एक स्थानीयले सामाजिक सञ्जालमा पोस्ट गरेपछि मेयर यादवले नगरप्रहरी परिचालन गरी मुकेशलाई खोजेर ल्याउन निर्देशन दिए ।
तर, मुकेश नभेटिएपछि खेतमा पानी पटाइरहेका उनका बुबा हरेन्द्रलाई पक्राउ गरी नगरपालिका कार्यालय ल्याइएको थियो । त्यसपछि मेयर यादवले उनलाई आफ्नो जुत्ता फुकालेर टाउकामा राख्न भनेका थिए । तर हरेन्द्रले अस्वीकार गरेपछि झापड लगाउँदै मेयर यादवले उनलाई शौचालयमा आधा घण्टा थुनेका थिए ।
तपाईको प्रतिक्रिया