कोरोनाकालीन दशैं (सम्पादकीय)

सम्पादकीय

10/16/2020

यो वर्ष कोरोना महामारीकाबीच नेपालीहरुको महत्वपूर्ण पर्व बडा दशैं सुरु हुँदैछ । कोरोनाको महासंकट झेलिरहेका नेपालीले दशैं कसरी मनाउने चिन्ताले ग्रस्त छन् । सरकारले पनि दशैंमा हुन सक्ने भीड नियन्त्रणका लागि ‘भर्चुअल दशैं’ मनाउन आग्रह गरेको छ ।

फूलपातीदेखि पूर्णिमासम्म आफन्तसँग भेटघाटमा बित्ने भएता पनि दशैं लाग्नुभन्दा एक महिना अघिदेखि नै बजारमा भीडभाड बढ्न थालिसकेको छ । गाउँघर र शहरबजामा लाग्ने हाट बजारमा मानिसको चाप अघिक बढेको छ । सरकार वा सिडियोले आदेश गर्दैमा दशैंका बेला मानिसहरु बजारमा ननिस्किई घरैमा बस्न शायदै सक्लान् । सवारी साधनमा भीडभाड नगर्नू भन्ने सरकारको आदेश चाडबाडमा औपचारिकतामै सीमित हुन्छ । किनभने, दशैंको दबाव सामान्य बेलाको जस्तो हुँदैन । दशैं यस्तो चाड हो, जुन सरकार भन्दा पनि शक्तिशाली बनेर आउँछ । यो सामाजिक यथार्थ हो ।

लकडाउनका ६÷७ महिनासम्म व्यापार गर्न नपाएका व्यवसायीहरु दशैंमा थोरै भए पनि घाटा पूर्ति होला कि भन्ने आशमा छन् । घर जान नपाएकाहरु घर जाने सुरमा छन् । यिनै कारणहरुले गर्दा लकडाउनको दबाबमा परेर दबिएको अर्थतन्त्रलाई दशैंले उत्तोलकको काम गर्ने पक्कापक्की छ । सरकारले निषेधाज्ञा अन्त्य गरेर व्यवसाय खुकुलो बनाएसँगै कोरोना संक्रमणको दर बढेको बढ्यै छ । अब दशैंको मुखमा जति चहल–पहल बढ्दै जान्छ, संक्रमणको दर पनि समुदायस्तरमा त्यही गतिमा फैलँदै जान्छ ।

माजमा दशैंको दबाव जति बढ्दै जानेछ, कोरोना संक्रमणको दबाव पनि त्यही मात्रामा बढ्न सक्छ ।
कात्तिक १५ सम्मको मानवीय चहल–पहलबाट थप संक्रमण फैलन सक्ने जोखिम हाम्रो सन्निकटमा छ । कात्तिक १५ पछि तिहार आउँछ । तिहारपछि छठ आउँछ । त्यसपछि चिसो मौसम सुरु हुन्छ । जाडो याममा कोराना भाइरसको जोखिम झनै बढ्ने चिकित्सकहरुले बताइरहेका छन् ।

निष्कर्षमा भन्ने हो भने दशैंको भीडभाडमा कोरोना संक्रमण अवश्य बढ्छ । मेडिकल साइन्सले दशैंलाई चिन्दैन । नेपालीहरुलाई दशैं–तिहार लागेको रहेछ है भनेर कोरोना भाइरस संक्रमण नभई चुप लागेर बस्दैन । त्यसैले दशैंमा भीडभाड कम गर्नु र संक्रमणको जोखिमबाट जोगिनुको विकल्प देखिँदैन । यस्तोबेला विज्ञ, डाक्टरले दिएका सुझावलाई पालना गर्नैपर्ने हुन्छ । संक्रमणबाट बच्न प्रत्येक नागरिकले आफैं सचेत रहनुपर्ने हुन्छ ।

चाडबाड आयो भन्दैमा स्वास्थ्यसम्बन्धी प्रोटोकोललाई पालना गर्न बिर्सनु हुँदैन । आर्शीवाद थाप्ने भन्दैमा स्वास्थ्यको जोखिममा रहेका ज्येष्ठ नागरिककहाँ टीका थाप्न जानैपर्छ भन्ने सामाजिक मान्यतामाथि पनि यस वर्ष विचार गर्नु वाञ्छनीय हुने देखिन्छ । आफन्तजनको भेटघाटमा दुरी कायम गर्ने कुरामा सचेत बन्नैपर्ने बाध्यता छ ।

त्यसैले दशैंमा पनि सकेसम्म कम भेटघाट गर्ने उपायहरुको खोजी गर्न सकिन्छ । दशैंमा भीडभाड कम गर्ने र गराउने विषयमा राजनीतिक दल, तिनका भातृ संगठन र विभिन्न सामाजिक संघसंस्थाहरुले अहिलेदेखि नै सचेतना अभियानहरु चलाउनु उपयुक्त हुने देखिन्छ । सरकारले जारी गर्ने सूचनाहरु पनि त्यसैतर्फ लक्षित हुनु राम्रो । कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं । आसन्न दशैं हामी नेपालीका लागि दसा बनेर नआओस् ।

अन्तमा, बडा दशैंको शुभ सन्देश भनेको आम नेपाली जनताबीच सद्भावना, मेलमिलाप, सहअस्तित्वबोध र ऐक्यवद्ध सांस्कृतिक चेतको जागरण पनि हो । कोरोनाले ग्रस्त र त्रस्त वर्तमान सन्दर्भमा बडा दशैं तथा विजया दशमीको सद्भाव, एकता र मेलमिलापको परम्परागत रूपमा अविरल प्रवाहित सन्देशले सबै नेपालीको मन–मस्तिष्कमा उज्यालो ल्याओस् र ऐक्यवद्ध सांस्कृतिक चेत जागृत गरोस् । यही नै हाम्रो शुभकामना ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ